गस्ती गरेको प्रहरी टोलीमाथि लुटेरा समूहद्वारा आक्रमण, असई घाइते


काठमाडौं – धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ। लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन्।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले लुटेरा समूहको आक्रमणबाट बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेल घाइते भएको जानकारी दिए।

उनको टाउकोमा चोट लागेको छ।

मंगलबार राति महोत्तरीको भंगहा नगरपालिका–७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराले आक्रमण गरेका थिए।

वडा नम्बर–४ स्थित राम्रो चोकमा गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिएपछि असई पोखरेलमाथि आक्रमण भएको थियो। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको एसपी रजौरेले बताए। पक्राउ परेकामध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया