

कोटेश्वरमा युवकको ज्यान लिएर भागेका टिपर चालक पक्राउ

काठमाडौं – गएराति काठमाडौंको कोटेश्वरमा गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएपछि टिपर चालक भागे। दुर्घटना गराई भाग्ने चालक र टिपरको नम्बर समेत खुलेको थिएन।
तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो।
तर, काठमाडौं प्रहरीले दुर्घटना गराई भाग्ने चालक र नम्बर नखुलेको टिपरलाई नियन्त्रणमा लिन सफल भएको छ। रमन कन्स्ट्रक्सनको स्वामित्वमा रहेको टिपर र चालकलाई बल्खुस्थित सुन्दरीघाटबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
तनहुँको भानु नगरपालिका–१० घर भएका ५२ वर्षीय सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ना.१ क ४५०२ नम्बरको टिपर र चालक श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एवं एसपी दिनेश मैनालीले बताए।
मृतक भक्तपुरको सल्लाघारीमा बस्थे। उनको निधारमा चोट लागेको छ। त्यस्तै मोटरसाइकलमा सवार काभ्रे घर भएका ३१ वर्षीय देव लामा गम्भीर घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पक्राउ परेका श्रेष्ठमाथि महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।

