

राष्ट्रपति कार्यालयका सैनिक जवानले चलाएको टिपरले लियो युवकको ज्यान

File Photo
काठमाडौं – आइतबार राती काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा राष्ट्रपति कार्यालयका सैनिक जवानले चलाएको टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन विक रहेका छन्। बा २ ख ५१४५ नम्बरको टिपर राष्ट्रपति कार्यालयमा कार्यरत सैनिक जवान दुर्गा श्रेष्ठले चलाएको खुलेको छ।
आइतबार राति साढे १० बजे विकलाई ठक्कर दिई टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय श्रेष्ठ फरार भएका थिए।
बानेश्वर प्रहरी वृत्तको प्रहरी टोलीले विभिन्न ठाउँको सीसीटीभी फुटेजको आधारमा टिपरको पहिचान गरेर टिपर धनी काभ्रेका बुद्ध तामाङलाई सोमबार नियन्त्रणमा लिएपछि चालक नेपाली सेनामा कार्यरत श्रेष्ठ रहेको खुलेको हो।
ठक्करलगत्तै उनी भागेर राष्ट्रपति कार्याल नै पुगेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई सैनिक मुख्यालयसँग समन्वय गरेर पक्राउ गरेको हो। प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको अवस्थामा टिपर फेला परेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपरसहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट पक्राउ गरेको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।
राष्ट्रपति कार्यालयमा कार्यरत श्रेष्ठले रातिको समयमा ‘पार्ट टाइम’ निजी ठेकेदारको टिपर चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रोधीघरमा राति झगडा भएर विक भाग्न खोज्दा टिपरले ठक्कर दिन पुगेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

