

जुवाडेको चेक फिर्ता प्रकरणः प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

काठमाडौं – प्रहरी प्रधान कार्यालयले जुवाडेबाट बरामद चेक फिर्ता प्रकरणमा छानबिन समिति गठन गरेको छ।
जुवाडेबाट चेक बरामद गरेपछि मुद्दा चलाउनुको साटो काठमाडौँ प्रहरीले आरोपीलाई नै फिर्ता गरेको घटनाबारे छानबिन गर्न प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
अपराध अनुसन्धान विभागका डिआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गत २५ असोजमा प्रहरीले सुभाष भेटवालको साथबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौँको चेक बरामद गरेको थियो। सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि तत्कालिन काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले मुद्दा चलाउन अस्वीकार गरेर चेक फिर्ता गरेको आरोप छ।
घटनाबारे गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो। समितिमा प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना र प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङ सदस्य छन्।
घटना के थियो?
२२ असोजमा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेले। त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट प्रहरीमा उजुर गरेका थिए।
तत्कालिन काठमाडौं प्रहरी प्रमुख सिंहले चेक चोरेको आरोप लागेका भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेको आरोप लागेको छ। ‘९९ आना’को सिसिटिभी फुटेज हेर्दा बरालको चेक भेटवालले भरेको प्रहरीको दाबी छ।
जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेर काठमाडौं प्रहरी प्रमुखबाट विदा हुने बेलामा आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको आरोप छ।
भेटवाललाई चेक फिर्ता गरेको भन्दै बरालले गृह मन्त्रालयमा उजुरी दिए। त्यसपछि गृह मन्त्रालयले प्रधान कार्यालयलाई पत्राचार गरेर घटना छानबिनका लागि अनुसन्धान गर्न निर्देशन दिएको हो।

