इच्छाराज तामाङसहित दुई जना जेल चलान


काठमाडौँ – ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंले पूर्वसभासद् इच्छाराज तामाङलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङलाई थुनामा राख्न आदेश दिएको हो। तामाङसँगै अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ।

अदालतले १२ मध्ये ९ प्रतिवादीलाई धरौटीमा रिहाको आदेश गरेको छ। एक जनालाई साधरण तारेखमा रिहा गरेको छ। साधरण तारेखमा रिहा हुनेमा संगीत श्रेष्ठ रहेका छन्। अदालतले प्रतिवादी हरिहर लामिछानेलाई ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, विजयविक्रम शाहीसँग १५ लाख, भगवान डंगोलसँग १० लाख धरौटी माग गरेको छ।

यस्तै, प्रतिवादीहरु बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुंगानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख, र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी मागेको छ।  अदालतले शेखरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो।

अदालतमा दर्ता भएको अभियोग पत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ।

तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत अभियोगपत्रमा माग गरिएको छ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया