वामदेवले विज्ञप्ति नै निकालेर प्रचण्डको गरे प्रशंसा
काठमाडौं – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन्।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन प्रारम्भको उद्घाटन सकिए लगत्तै गौतमले प्रचण्डको प्रशंसा गर्न भ्याएका हुन्।
महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी प्रशंसा गरेका हुन् ।
गौतमले जारी गरेको विज्ञप्तिमा ‘अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटनमा सुभकाना दिने सबै अथितिहरुको मुक्त कण्ठले धन्यवाद दिएको उल्लेख गरिएको छ।’
उनले आफ्नो सचिवालयमार्फ विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘आफ्नो विचार पनि संक्षिप्त रुपमा तर्कयुक्त राख्नुभयो। उहाँको मन्तव्यमा एउटापनि दुर्वचन दिएन। कतिपय नेताहरु दुर्वचनाबाट आफ्नो मन्तव्व सुरु गर्छन्। र, दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो। ‘प्रचण्ड’ जीलाई धेरै-धेरै बधाइ र धन्यवाद दिन चाहन्छु।’
संयोजक गौतमले अन्त्यमा माओवादी केन्द्रलाई अधिवेशनको पूर्ण सफलताको सुभकामना र बधाइसमेत दिएका छन्। गौतम माओवादी केन्द्रको महाधिवेशनमा भने उपस्थित भएका थिएनन्।