
प्रकाशमान सिंह उपप्रधानसहित रक्षामन्त्री बन्दै!
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लज्जास्पद पराजय कन्र्फम भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। रिजालले महामन्त्रीको अन्तिम परिणाम घोषणा हुने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन्।
रिजालको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ। एउटा पार्टीभित्रबाट पदाधिकारी छान्ने प्रक्रियामा हारजीत हुन्छ। तर, हार व्यहोर्न नसकेरै राजीनामा त्यसको विकल्प होइन। राजीनामासँगै रिजालको ठाउँमा प्रकाशमान सिंह उपप्रधानसहित रक्षामन्त्री बन्ने चर्चा छ।
यसअघि सोमबार सभापति पदका लागि भएको चुनावमा कसैले पनि बहुमत जुटाउन नसकेपछि दोस्रो चरणको मतदानमा बहुमत जुटाउने क्रममा प्रधानमन्त्री देउवाले सिंहलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जतिबेला देउवाले सिंहलाई उपप्रधानसहित मन्त्रीको अफर गरेको स्रोतले बतायो।
लामो समययता देउवाविरुद्धको टिममा रहेर राजनीति गरिरहेका सिंहले समेत देउवालाई समर्थन गर्ने बताएपछि ‘बार्गेनिङ’ भएको कुरामा दुईमत छैन। रिजालको राजीनामालाई स्वीकृत गरेर देउवाले सिंहलाई रक्षामन्त्रीसहित उपप्रधान बनाउने तयारी गरिरहेका छन्।
त्यस्तै दोस्रो चरणमा देउवालाई विमलेन्द्र निधिले समेत सहयोग गरेका थिए। आफूनिकट व्यक्तिलाई देउवाले मन्त्री बनाउने वचन दिएपछि निधिले देउवालाई सहयोग गरेका थिए। दोस्रो चरणमा भएको मतदानपछि देउवा दोस्रोपटकको लागि नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भए।
सिंह, निधि, शेखर कोइराला र कल्याण गुरुङ १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार थिए। तर, कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा भएको मतदानमा कोइराला र देउवाबीच प्रतिस्पर्धा भएको थियो।



कागजपत्र |
