महामन्त्रीको रेसमा मिनेन्द्र र राजाराम पछाडि


काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ। पछिल्लो अपडेट अनुसार हालसम्म १८९५ मत गनिएको छ।

प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्। १८९५ मतगणना गर्दा गगन ४६७ मतले विश्वप्रकाश शर्मा भन्दा अगाडि छन्।

दोस्रो स्थानमा रहेका शर्माले ८२७ मत पाएका छन्। त्यस्तै प्रकाशशरण महतले ६२० ल्याएर प्रदीप पौडेललाई पछ्याइरहेका छन्। पौडेलले ६६८ मत प्राप्त गरेका छन्।

त्यस्तै महामन्त्रीको रेसमा मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। १८९५ मत गन्दा रिजालले ३२९ र कार्कीले ५८ मत ल्याएका छन्।

काँग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन्। अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ।

सभापति शेरबहादुर देउवा समूहबाट महत र पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट थापा र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट शर्मा र विमलेन्द्र निधि समूहबाट कार्की महामन्त्रीको उम्मेदवार हुन्।

प्रतिक्रिया