१४ औं महाधिवेशनः कांग्रेसका यी तीन अभागी अनुहार…


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार सम्भवतः आज (बुधबार) भित्र सबै पदको मतगणना हुनेछ ।

अहिलेसम्म घोषित मतपरिणामअनुसार अहिलेसम्मका सबैभन्दा अभागी उम्मेदवार भनेको हृदयराम थानी र विजयकुमार गच्छदार देखिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय उसभापति पदका उम्मेदवार विजयकुमार गच्छदार १९०६ मत ल्याई विजयी उम्मेदवार धनराज गुरुङसँग २ मतले पराजित भए । जुन, गच्छदारका लागि अत्यन्तै ठूलो पराजय बन्न पुग्यो । जसले गर्दा विगत लामोसमयदेखि कांग्रेसका साथै मुलुकको मुख्य निर्णायक तहमा बसेका गच्छदारले पहिलोपटक जनताबाट बहिस्कृत भएका महसुस गर्न बाध्य भए ।

त्यस्तै नियति केन्द्रीय सदस्य कर्णाली प्रदेशका उम्मेदवार हृदयराम थानीले पनि भोगे, उनले त अझ १ मतको अन्तरमा पराजय ब्यहोरे ।

१४ औं महाधिवेशनमा कर्णाली प्रदेशको केन्द्रीय सदस्यको २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । जसमा निर्वाचन हुँदा राजीव विक्रम शाहले २८२० मत सहित स्पष्ट विजयी भए भने अर्का उम्मेदवार कर्णबहादुर बुढाले २२०० मत प्राप्त गर्दै दोस्रो स्थानमा केन्द्रीय सदस्यमा निर्वाचित भए । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल नजिकका मानिएका नेता थानीले भने २१९९ मत ल्याए । जुन बुढाको मतभन्दा १ मत कम हो । मतपरिणामबाट थानीले तेस्रो स्थानमा रहँदै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेकन् ।

कांग्रेस सभापतिका लागि आप्mनो गुट मिलाउन नसकेपछि महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका पौडेलको १ मतका कारण आफूनिकट थानी केन्द्रीय सदस्य बन्नबाट रोकिए ।

कर्णाली प्रदेशमा अन्य उम्मेदवारहरु दीनबन्धु श्रेष्ठले १५४६ मत ल्याएका छन् भने नारायण प्रसाद भट्टराईले ३६० मत प्राप्त गरेका थिए ।

त्यस्तै पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश नं. १ को प्रदेश सभापतिमा २ मतले पराजित भएका थिए । प्रदेश नं. १ को सभापतिका लागि घिमिरेले ८४२ मत ल्याउँदा प्रतिद्वन्द्वी उद्धव थापाले ८४४ मत ल्याएका थिए ।

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाकै क्षेत्रमा रहेका घिमिरेलाई भोट हाल्नका लागि कोइराला परिवारकै

तीनजना केन्द्रीय नेताहरु नगएपछि उनले २ मतले पराजय भोगेका थिए ।

सुनसरी र मोरङबाट प्रतिनिधि रहेका कोइराला परिवारका शेखर, सुजाता कोइराला र महेश कोइराला प्रदेश अधिवेशनमा सहभागी नहुँदा घिमिरे २ मतले पराजित भए । यदि उनीहरु तीनै जना मतदानमा सहभागी भएको भए घिमिरे १ मतले विजयी हुने थिए । कोइराला परिवार मतदानमा सहभागी नहुँदा उनीहरुले ठूलो मूल्य चुकाउनु परेको छ, गुरुराज घिमिरेको पराजयबाट ।

प्रतिक्रिया