

कांग्रेस पदाधिकारीको मतगणना सुरु गर्ने तयारी, पुस ५ सबै नतिजा आउने

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापतिको मतगणना सम्पन्न भइसकेको छ । मतगणनाअनुसार शेरबहादुर देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएका छन् ।
सभापतिको मतगणना मध्यरातमा सम्पन्न गरेको निर्वाचन समितिले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबार (आज)बाट सुरु हुने जनाएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । सम्पूर्ण मतगणना पार्टी कार्यालयमै हुने पनि जनाइएको छ ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने बताए ।
मध्यरातमा सम्पन्न मतगणनामा शेरबहादुर देउवाले २७३३ मत ल्याएर दोस्रो पटकका लागि सभापति बनेका थिए भने शेखर कोइरालाले १८५५ मत ल्याएका थिए । दोस्रो चरणमा सम्पन्न सभापतिको मतदानमा ४६२३ मत खसेको थियो भने ३५ मत बदर भएको थियो ।

