

कांग्रेस महाधिवेशनः समूहको सभापति छान्न चाक्सिबारीमा बैठक बस्दै पौडेलसमूह

काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार छनोटका लागि आज बैठक बोलाएका छन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच भएको छलफलमा पौडेलसमूहबाट एक जनाले सभापतिमा उम्मेदवारी दिने बारे छलफल भएको थियो।
दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो। सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राखेका छन्।
पूर्वमहामन्त्री सिंह निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। सभापतिमा पौडेल समूहबाट पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्।
केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र सम्भव भएसम्म महाधिवेशन प्रतिनिधिका सुझाव लिएर सर्वसम्मत रूपमा सभापति तय गरिने पौडेलनिकट एक नेताले बताए।

