अनलाइन न्युज सेभनेलाई पत्रः हामीलाई अन्याय भयो


उपर्युक्त विषयमा हामी अन्यायमा परेकाले यो पत्र खण्डन र स्पष्टीकरणका लागि पठाएका छौं। ‘जुवाको नाममा लाखौं लुटपाट गर्ने अशोक गर्छन् प्रहरी अधिकारीको बद्नाम’ शिर्षकमा समाचार प्रकाशित गरी हामीलाई असर पारेकाले निम्न विवरणमाथि प्रकाश पारिएको छ।

१. समाचारमा विना प्रमाण र आधार हामीलाई अपराधी र गुण्डागर्दीको आरोप लगाइएको सो समाचार निराधार छ ।

२. हामीमाथि अपराध शैली परिवर्तन गरेको भनिएबाट पहिला पनि अपराधी भएको र अहिले शैली परिवर्तन गरिएको भनी बदनाम गरिएको छ । गुण्डागर्दी र अपराधको संगीन आरोप लगाउ‘दा स्पष्ट आधार र कारण देखाउनु पर्नेमा कुनै आधार र कारण देखाउन नसकेको, पहिला कुन कुन अपराधमा सामेल भएको, प्रहरीको वारेण्ट लिष्टमा भएको भए सो समेत उल्लेख गर्न सक्नुपर्नेमा हामी सामान्य मानिस माथि सो आरोप आफैंमा द्धेषपूर्ण रहेको स्पष्ट छ ।

३.समाचारमा जुवा खेल्ने र खेलाएको भनिएकोमा, सो वापत हामीलाई कति चोटी सो अभियोगमा पक्राउ गरिएको हो, हामीलाई के कारबाही भएको छ भनी उल्लेख गर्न नसकेबाटै सो समाचार गलत रहेको स्पष्ट छ ।

४. समाचारमा चारजनालाई समातेको भनिएकोमा के रेकर्ड छ ? यदि पक्राउ गरिएको भए पक्राउ गरी कुन परिसर, कुन कार्यालयमा लगिएको हो भन्ने तथ्यगत कुरा खुलाउन नसकेबाटै समाचार आधारहिन रहेको स्पष्ट छ । 

५. समाचारमा चार लुटेरा भनिएको छ, चार लुटेरा कसरी भइयो, के लुटियो, के बरामद भयो र प्रहरीले के बरामद गरेको थियो भन्ने कुनै आधार दिन सकेको छैन । अर्काे कुरा समाचारमा डिएसपीलाई दबाब आएको भनिएकोमा को कताबाट दबाब आएको हो भन्ने ब्यहोरा उल्लेख नगरी हामीलाई हचुवाका भरमा अभियोग लगाइएको छ । यसबाट पनि उक्त समाचार गलत रहेको स्पष्ट छ ।

६. समाचारमा डिएसपीसंग हिमचिम छ भनिएको आधार के हो ? हिमचिम कसरी भयो ? हामीलाई त जथाभावी लेखेर बदनाम गरिएको छ, जिम्मेवार प्रहरी संगठनलाई समेत झूठा आरोप लगाएर बद्नाम गरिएको छ ।

७. समाचारमा प्रहरी अधिकृत सामुन्नेमा भएको अशोक सम्पर्क विहिन भएको भन्ने सम्मको र

८. समाचारमा प्रहरी अधिकारीलाई आइफोन १२ दिएको भन्नेसम्मको ब्यहोरा समेत गलत छ । त्यसको प्रमाण दिन नसकेबाटै कुन ठाउँ? कहांबाट किनेर दिएको भन्ने कुरा खुलाउन नसकेबाटै सो समाचार आधारहिन छ। खासमा नेपालमा आइफोन १२ आइनसकेको अवस्थामा तथ्यगत रुपमै सो समाचार बेतुकको रहेको स्पष्ट छ ।

अतः उल्लेखित आधार र कारणबाट सो आधारहिन गलत समाचार खण्डन गरीपाऊन यो निवेदन पेश गरेका छौं ।

–बाबुराम तामाङ, दिनेश साह

प्रतिक्रिया