पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु
पर्वत–अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले रु ११ करोडको लागतमा जिपलाइन निर्माण शुरु गरेको हो ।
जिपलाइनको शुक्रबार पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिलान्यास गरेका छन् । धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदिरको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिए ।
यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन मेस्सीले बताए । ‘क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।’ उनले भने, ‘यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ । त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई एक हजार ८०० मिटर छ ।’ सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जिपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।
इञ्जिनीयर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उहाँको भनाइ छ । कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।
जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इञ्जिनीयर मेस्सीले बताए । जिपलाइनका एक जना लगानीकर्ता समेत रहेका कुस्मा नगरपालिकाका प्रमुख जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जिपलाइनभन्दा यहाँ आकर्षण बढी हुने बताए ।
‘पर्वत जिल्ला अब साहसिक खेलको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काइसाइक्लिङ, रक क्लाइम्बिङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो’, उनले भने, ‘यसले पर्वत जिल्लासहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटक तान्न सहयोग गर्छ । मुस्ताङको साहसिक यात्रा गरेर आउनेलाई जिपलाइनले कुस्मामा आकर्षण गर्छ ।’ जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिकरूपमा रु ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन् ।
(रासस)