

प्रधानको अभिव्यक्तिपछि बागमती प्रदेशसभामा सिटौला पक्षको विद्रोह

हेटौंडा – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रदेश अधिवेशन अन्तर्गतको बाग्मती प्रदेशको सभापतिको दोस्रो चरणको निर्वाचनका क्रममा सिटौला समूहमा विद्रोह देखिएको छ ।
बाग्मती प्रदेश सभापतिको लागि शनिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दुई शीर्ष मत ल्याएका उम्मेदवारबीच दोस्रो चरणको मतदान आइतबार (आज) भईरहेको छ । दोस्रो चरणका लागि इन्द्र बानियाँ र जगदीश्वरनर सिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
दोश्रो चरणमा प्रतिष्पर्धाबाट बाहिरिएको कृष्ण सिटौला पक्षका सभापतिका प्रत्यासी भीमसेनदास प्रधानले इन्द्र बाँनियालाई सहयोग गर्ने बताएपछि सो समुहमा विद्रोह भएको हो ।
सिटौलाको पक्षमा रहेका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं दोलखाबाट महाधिवेशन प्रतिनिधि कुन्दराज काफ्ले, पूर्व सहमहामन्त्री काभ्रेका सिटौला निकट नेता माधव ढकालले विद्रोह गरेका छन् । नेपाल विद्यार्थी संघका बर्तमान महामन्त्री बलदेब तिमल्सिना पनि केसीको पक्षमा देखिएका छन् ।
सिटौला निकट रहेका केन्द्रीय सदस्य प्रदीप पौडेल निकट रामेछापका प्रतिनिधिहरु समेत केसीको पक्षमा देखिएका छन् ।

