पौडेल मृत्यु प्रकरणः होटेल सञ्चालकसहित ११ जनाविरुद्ध पाँच दिन म्याद थप


मृतक गणेश पौडेल।

दाङ – घोराहीमा साथीको जन्मदिन मनाउन गएका एक युवकको मृत्युबारे जिल्ला अदालतले ११ जनाविरुद्ध पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

गत बुधबार साथी नवीन गिरीको जन्मदिन मनाउन होटेलमा गएका घोराही–१७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु भएको थियो।

त्यसपछि प्रहरीले होटेल सञ्चालकसहित मृतक पौडेलका ११ जना साथीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।

दाङ जिल्ला अदालतले शुक्रबार नै होटेल सञ्चालकसहित पौडेलका थप १० जना साथीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो।

उक्त दिन मृतक पौडेल घोराही–१५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा साथी नबीनको जन्मदिन मनाउन गएका थिए।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले प्रहरी निमन्त्रणामा रहेकाहरुले पौडेल होटेलको दोस्रो तलबाट खसेपछि बेहोस भएको भनेर बयान गरेको जानकारी दिए।

‘मदिरा सेवनपछि पौडेल सन्तुलन गुमाएर छतबाट भुइमा खसेर बेहोस भएको र त्यसपछि साथैहरु मिलेर राति नै बाथरुममा लगेर नुहाई दिएर सुताएको बयान दिएका छन्,’ एसपी काफ्लले भने, ‘त्यतिखेर पौडेलले वान्ता समेत गरेको उनीहरुको भनाइ छ।’

‘हामी थप अनुसन्धान गर्दै छौं,’ घटनापछि घर परिवार तथा प्रहरीलाई कुनै खबर नगर्नु जस्ता कमजोरीहरु देखिएको एसपी काफ्लेले बताए।

‘समयमै अस्पताल पु¥याएको भए घाइते बाँच्न सक्थे,’ एसपी काफ्लेले भने, ‘घटना लुकाउनु खोज्नुले आशंका गर्ने ठाउँहरु दिएको छ।’

पौडेलको होस बिहीबार बिहानसम्म पनि नखुलेपछि मात्रै उनलाई उपचारका लागि बुटवल पु¥याइएको थियो। दिउँसो २ बजे बुटवलतर्फ लगिएका पौडेललाई चिकित्सकले बेलुकी ८ बजे मृत घोषणा गरेका थिए।

पोस्टमार्टम रिपोर्ट आइनसकेको र प्रहरी नियन्त्रणमा रहेकाहरु माथि थप अनुसन्धान जारी रहेको हुँदा तथ्य कुरा अनुसन्धान पुरा भएपछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया