दाङमा साथीको ‘बर्थडे’मा गएका युवकको मृत्यु, होटल सञ्चालकसहित १२ जना पक्राउ


दाङ – आफ्नो साथीको ‘बर्थ डे’ मनाउन गएका घोराहीका एक युवकको मृत्युपछि दाङ प्रहरीले होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

साथीको जन्मोत्सव मनाउन होटलमा गएका युवकको शंकास्पद मृत्युपछि होटल सञ्चालकसहित उनका १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जन्मदिन मनाउने क्रममा होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका–१७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको जानकारी दिए।

नियन्त्रणमा लिइएका युवाहरुले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन्।

जन्मदिन मनाउन दिउँसो पुगेको बेला सो घटना हुँदा पनि होटल सञ्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल सञ्चालकलाई पनि समातेको एसपी काफ्लेले बताए।

पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही–१५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा गएका थिए।

प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो। मृत्यु शंकास्पद लागेकोले पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको काफ्लेले जानकारी दिए।

प्रतिक्रिया