

दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

देउखुरी- दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका-७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो।
घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
चौधरीलाई बनगैं जङ्गलनजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
बिहानै बजारमा दूध छाडेर फर्कंदै गर्दा बसले ठक्कर दिएको बताइएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

