ओली पक्ष रावलको कार्यकर्तामाथि जाइलाग्यो


काठमाडौं – नेकपामा एमालेको नयाँ नेतृत्वका लागि चितवमा जारी मतदानस्थलमा अहिले एमाले प्रतिनिधिहरुले भोट हालिरहेका छन्। नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावल र केपी शर्मा ओली मैदानमा छन्।

ओली पक्षले ‘भोट हाल्ने र नहाल्ने’को नामावली वितरण गरेको भन्दै रावलले आपत्ति जनाएका छन्। प्यानल सूची वितरणको विरोध गर्दा ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको उनले बताएका छन्।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरित समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु’, उनले ट्वीटरमा लेखेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि एमाले मतदानमा विवाद देखिएको छ।

आचारसंहितामा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने भनिएको छ। मतदान जारी हुँदै गर्दा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्नेबारे प्यानलको सूची नै वितरण गरेको हो।

‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चामा अध्यक्षका उम्मेदवार रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की, सचिवका उम्मेदवार भीमप्रसाद आचार्य लगायतको नाम छ।

यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ।

प्रतिक्रिया