एमाले महाधिवेशनः साँझ ७ बजेभित्र खाना खाएर बन्दसत्रस्थलमा आउन प्रतिनिधिलाई उर्दी


सौराहा – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सौराहामा जारी दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र आज साँझ सात बजे सुरु हुने भएको छ ।

सौराहास्थित होटल सेभेन स्टारमा आइतबार दिनभरि बसेका महाधिवेशन प्रतिनिधिहरू अहिले खाना खान भनेर बाहिर निस्किएका छन्।

नेताहरूले आफूहरूलाई ७ बजेसम्म खाना खाएर आइसक्नु भनेकाले खाना खान जान लागेको उनीहरूले बताएका छन्।

आज बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने भनिएको थियो। अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंग्याउन छलफलमा जुटेपछि बन्दसत्र सुरू हुन सकेको थिएन।

शनिबार भएको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने सर्वाधिकार ओलीलाई दिइएको थियो । ओलीले नेताहरू पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु पौडेललाई सहमतिको खाका बनाउन दिएका थिए। चार नेताले उक्त खाका ओलीलाई बुझाइसकेको बताएका छन्।

साँझ सात बजेपछि सुरू हुने बन्दसत्रमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची पेस गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया