बन्द सत्रमा ओलीको सम्बोधन- एमाले पार्टी श्रृंखलाबद्ध हमलाको शिकार हुँदै गयो


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश शिकार हुँदै गएको शिकार भएको बताएका छन् । एमालेको १० औं महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले तत्कालिन अवस्था सरकार ढल्ने अवस्था आउने भएकाले माओवादी केन्द्रसँग पार्टी एकता गरेको बताए । ओलीले पार्टीका नीति र योजना कार्यान्वयनका लागि आफूहरू मिलेको बताए । तर सरकार बनाएको र पार्टी एकता गरेकै दिनबाट षड्यन्त्र भएको उनले उल्लेख गरे ।

‘कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा गइरहेका बेला कम्युनिष्ट पार्टीले जनमत पाएको थियो तर सुरुकै दिनबाट षड्यन्त्र सुरु गरे’ उनले भने,‘हामीमाथि अनेक प्रहार भए । हाम्रो भित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भए । हाम्रो पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश शिकार हुदै गयो । पार्टी विभाजन गराइयो । एकीकृत भइरहेका नेताहरू आफैसंलग्न भएर पार्टीभित्र विभाजनका क्रियाकलापमा लागे र पार्टी दुईपल्ट विभाजन भयो ।’

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताए । शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । यही कारण देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताए ।

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उनको भनाइ छ । ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

प्रतिक्रिया