एमाले महाधिवेशनमा महन्थ ठाकुरको सम्बोधन- ओलीले हामीलाई सद्‍भाव राख्नुभयो तर, सहमति पूरा गर्नुभएन


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति गुनासो व्यक्त गरेका छन् ।

नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले ओलीले आफ्नो पार्टीप्रति सद्भाव राखेको भए पनि सहमति पूरा नगरेको गुनासो गरेका हुन्।

उनले भने, ‘उहाँले हाम्रो पार्टी र नेता कार्यकर्ताप्रति देखाएको सद्भावप्रति आभार व्यक्त गर्छु। तर, यही संविधानभित्रकै संशोधनको मागसहित लाखौँको संख्यामा सडक जानुपरेको थियो। एकदिन मानव साङ्लोको नाममा संशोधनका माग गरेको थियौँ।’

उनले संविधान अझै पूर्ण रुपमा कार्यान्वयन भइसकेको बताए। ‘संविधानमा अझै त्रुटि छ। उहाँले त्यसलाई सद्भाव राख्नुभयो त्यसका लागि कार्यदल बनाएका थियौँ। अहिले पनि पूरा भएको छैन। हाम्रो साथीहरूको मुद्‍दा छ। सांसदहरू जेलमा छन्। प्रदेशसभाको सांसदहरूमाथि मुद्‍दा छ’ उनले भने।

वर्तमान सरकारलाई पनि नागरिकता र जेलमा रहेकाहरूलाई छाड्ने मुद्‍दा फिर्ता लिनेबारे सहमति भए पनि पूरा नभएको गुनासो गरे। अध्यक्ष ठाकुरले भने, ‘नागरिक विधेयकको कुरा पनि छ। वर्तमान प्रधानमन्त्रीसँग पनि हामीले आश्वासन दिनुभएको थियो। हाम्रो नेता कार्यकर्तामाथिको मुद्‍दा फिर्ता भएन भने मधेशका जनता फेरि सडकमा आउन नपरोस्।’

प्रतिक्रिया