केपी ओलीले आफ्नो पार्टीलाई देखाएको सद्भावप्रति अनुग्रहित छुः महन्थ ठाकुर


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमालेको दसौं महाधिवेशनमा शुभकामना दिँदै केपी शर्मा ओलीले आफ्नो पार्टीलाई देखाएको सद्भावप्रति अनुग्रहित भएको बताएका छन्।

एमाले महाधिवेशन उद्घाटन समारोहलाई चितवनमा सम्बोधन गर्दै ठाकुरले एमाले पार्टीले आकाशझैं उचाइमा पुगोस् भनेर शुभकामना दिँदै ओली प्रधानमन्त्री हुँदा आफ्नो पार्टीले उठाएको संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्न देखाएको तत्परताप्रति धन्यवाद दिएका थिए।

‘म यहाँ धन्यवाद दिन आएको छु । पार्टीप्रति, नेता र कार्यकर्ताप्रति जुन सद्भाव देखाउनुभएको छ, त्यसप्रति अनुग्रहित छु,’ ठाकुरले भने।

ओलीले प्रधानमन्त्री हुँदा मुद्दा फिर्ता लिइदिँदा आफ्ना १ सय ३९ साथी रिहा भएको उनको भनाइ थियो। अध्यक्ष ठाकुले आफ्ना कार्यकर्ताहरु अहिले पनि विभिन्न मुद्दामा जेलमा रहेका कारण उनीहरुको तत्काल रिहाइको माग गरेका छन्।

उनले आफूहरूका बाँकी माग सम्बोधन गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे। प्रधानमन्त्री देउवा पनि महाधिवेशनमा सहभागि छन्।

प्रतिक्रिया