

योगी नरहरिनाथका पुस्तक अभिलेखीकरण गरिँदै

काठमाडौं – योगी नरहरिनाथले लेखेका ऐतिहासिक महत्वका पुस्तकको राष्ट्रिय अभिलेखालयले अभिलेखीकरण शुरु गरेको छ । योगीले सङ्ग्रह गरेका हस्तलिखित ग्रन्थलगायत दस्तावेज भने संरक्षण गरेर स्क्यानिङसमेत गरिने अभिलेखालयले जनाएको छ ।
पशुपति क्षेत्रस्थित मृगस्थलीको गोरक्षपीठमा रहेको आश्रममा अस्तव्यस्त पुस्तक संरक्षणका लागि अभिलेखीकरण शुरु गरिएको अभिलेखालयका अनुसन्धान अधिकृत मनिता न्यौपानेले बताइन् । यहाँ योगी नरहरिनाथले लेख्नुभएका ५७१ वटा पुस्तक छन् । योगीलाई प्राप्त भएका पुस्तकसमेत पुस्तकालयमा राखिएको छ । पुस्तकालय माथिको कोठामा हस्तलिखित ग्रन्थलगायत महत्वपूर्ण दस्तावेज रहेको जनाइएको छ ।
योगीको निधनपछि गुठी संस्थानले आश्रममा थुनेर राखेको भवन २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि धेरै पुस्तक बिग्रिएका छन् । पुस्तक बिग्रन लागेपछि श्री बृहदाध्यात्मिक परिषद्ले योगी नरहरिनाथ स्मृति पुस्तकालय सङ्ग्रहालय शुरु गरेको थियो । त्यहाँ राखिएका पुस्तकको अभिलेखालयले तीन दिनदेखि अभिलेख राख्न शुरु गरेको हो ।
वर्षौंदेखि थुनिएर राखिएका पुस्तकको धुलो झार्ने, मिलाउने सूचीकरण गर्नेलगायत काममा नेपाली सेनाले समेत सघाइरहेको पुस्तकालयमा स्वयंसेवीका रुपमा काम गर्दै आएकी दीपा दाहालले बताइन् । पुस्तकालय शुरु गरिए पनि स्रोत र साधनको अभावमा व्यवस्थित हुन सकेको छैन । सेनाले आश्रममा भत्किएका संरचना बनाउनसमेत सहयोग गर्ने जनाइएको छ ।
अभिलेखालयबाट खटिएकी सिर्जना भट्टराई पुस्तकको अवस्था कस्तो छ भनी हेरेर मिलाउन लागिएको बताउछिन् । हालसम्म पाइएका पुस्तक सुरक्षित पाइएको उनले बताइन् । पुस्तकालयमा योगी नरहरिनाथलाई प्राप्त भएका पुस्तकसमेत गरी छ हजार वटाको सङ्ग्रह गरिएको छ । पुस्तकालयमा सन्धि सङ्ग्रह, हिमवत्खण्डलगायत महत्वपूर्ण पुस्तक छन् । नरहरिनाथका केही पुस्तक भने पुनः प्रकाशन भएका छन् । गोरक्ष साम्यवादलगायत उनका पुस्तकको माग अहिले बढिरहेको स्वयंसेवी दाहालले बताइन् ।
(रासस)

