


एआईजीको दरबन्दी नथप्न संसदीय समितिको निर्देशन, के होला डिआईजी पोखरेलको बढुवा सिफारिस?

काठमाडौं– प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरीमा थपिएको अतिरिक्त महानिरिक्षक (एआईजी) पद नथप्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपानेसहित उपस्थित रहेको बैठकमा समितिले यस्तो निर्देशन दिएको हो। समितिको निर्देशनलाई सम्बन्धित निकायमा पुराउने गृहमन्त्री थापाले जवाफ दिएका छन्।
बादलले भन्न खोजेको सम्बन्धित निकाय भनेको मन्त्रिपरिषदको बैठक हो। अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको निर्देशनबारे उनले जानकारी गराउनेछन्।
थपिएको एउटा एआईजी पदमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेललाई बढुवा समितिले सिफारिस गरिसकेको छ। सरकारले उक्त सिफारिसलाई अनुमोदन गर्न बाँकी छ।
समितिको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषदले मानेको खण्डमा पोखरेलको बढुवाको प्रक्रिया तत्कालका लागि भने थाँती रहनेछ। तर सिफारिस भइसकेको र मन्त्रिपरिषदमा पुगिसकेको प्रस्तावमा भने गृह मन्त्रालय एक्लै निर्णायक हुन नसक्ने भएकाले गृहमन्त्री थापाले सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएका हुन्।

