

वीपी कोइराला दाजुभाईका तीन सन्तानः कांग्रेस सभापतिमै दाबेदारीको रोचक कथा

काठमाडौं– सरकारसँग राम्रो प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना एकातिर भइरहेको छ, अर्कातिर महाधिवेशनको चटारो पनि छ।
पहिलो पटक कोइराला परिवारबाट कांग्रेस सत्ताको बागडोर सुदूरपश्चिममा पुगेको थियो। महाधिवेशनको चर्चा अहिले कांग्रेसको आन्तरिक जीवनको सुदृढिकरणका निम्ति भइरहेका छन्। योसँगै सभापतिको दाबेदारीका अनेक पक्ष छन्।
सभापति देउवा फेरि पनि नेतृत्वमा आउने होडमा छन् भने उपसभापति विमलेन्द्र निधि पनि सभापतिका लागि दाबेदारी देखाइरहेका छन्। अर्कातिर कृष्णप्रसाद सिटौलाको फरक खेमा सभापतिको दाबेदारी गरिरहेको छ, सिटौला १३ औं महाधिवेशनको पहिलो राउन्डमा त उम्मेदवार नै थिए। पछि देउवालाई साथ दिएपछि भागवन्डाका हकदार पनि भए।
रामचन्द्र पौडेल जीवनको उत्तरार्धमा पनि कोइराला परिवारको विरासतको नेत आफैं भएको दाबेदारी प्रस्तुत गर्दै सभापति पद नछाड्ने लयमा छन्। बिजयकुमार गच्छादारको फेरि आफ्नै लाइन र लय छ। यसपटक कांग्रेस नेतृत्व कसको पोल्टामा जाला? भन्ने प्रश्नको चर्चा व्यापक छ। यदाकदा तेस्रो पुस्ताका लागि आफैं सभापतिको उम्मेदवार बन्छु भनेर गगन थापाले पनि भाषण ठोकेकै हुन्।
यी अनेक प्रकारका चर्चाबीच कांग्रेसले आदर्श नेता तथा पुरुष मान्ने विश्वेश्वरप्रसाद (वीपी) कोइराला दाजुभाईका तीन सन्तानको सभापतिमा दाबेदारी निक्कै रोचक छ।
वीपीपुत्र डा. शशांक कोइराला यसअघि नै पौडेल खेमाबाट महामन्त्रीमा निर्वाचित भएका थिए। उनको सभापतिको दाबेदारी स्वभाविक नै हो। तर, गिरीजाप्रसाद कोइरालाले उत्तराधिकारीका रुपमा विश्वास गर्न सक्ने पात्र हुन्, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला। विश्वास गर्नुपर्ने मूल कारण भनेको भाउजु नोना कोइरालाले शेखरलाई अगाडि बढाउनका लागि गिरीजाप्रसादसँग गरेको अनुरोध।
‘कोइराला विरासतमा अहिले रोचक पक्ष देखिएको छ। कोइराला परिवारमा नै कांग्रेसको केन्द्रिकरण गर्ने बहसमा सन्तान मिल्लान या नमिल्लान अलग कुरा हो, नेतृत्वमा त सबैको दाबी छ’, कोइराला परिवारलाई नजिकबाट चिनेका एक नेता भन्छन्,‘यो दाबेदारीको अन्त्य त महाधिवेशनमा उम्मेदवारीका बेला होला तर अहिलेको चर्चा रोचक देखिन्छ।’
गिरीजाप्रसादपुत्री सुजाता कोइराला आफैं सभापतिमा उठ्ने दाबी गरिरहेकी छन्। यद्यपि कांग्रेसीजनले उनको यो दाबीलाई गम्भीर रुपमा लिएका छैनन्। तैपनि वीपीको आदर्श बोकेका कांग्रेसमा उनकै दाजुभाईका सन्तानको यो दाबेदारीले अन्यलाई सजिलो हुनसक्ने अनुमान गरिएको छ।
सुजाताले भनेकी छन्,‘ कांग्रेसले बलियो नेतृत्व पाएन । नयाँ पुस्ता सधैं बुढाहरुको नेतृत्वमा गयो र पार्टी नै बुढोजस्तो भयो भन्ने निराशा देखियो । त्यसैले युवा र महिलाहरुमा आत्मविश्वास भर्ने योजनासहित म नेतृत्वमा मेरो दाबी हो।’
त्यसो त कोइराला परिवारमा ज्येष्ठताको हिसाबले त सबैले शेखरलाई नै आगामी सभापतिको उम्मेदवारका रुपमा उभ्याएका छन्। शेखर आफैं पनि सभापतिका लागि तयार रहेको र कांग्रेसलाई उर्जा दिने वक्तव्य र बयानबाजीमा पछि छैनन्। त्यहाँमाथि बिराटनगरलगायत पूर्वका पुराना कांग्रेसले भने शेखरलाई नै आगामी सभापतिको उम्मेदवारका रुपमा हेरेका छन्। शेखरले यस पटकको सभापतिका लागि सम्भावित समीकरणको पनि अध्याय थालेको बताइएको थियो।
सिटौला प्यानलमा महामन्त्रीमा लडिसकेका गगन थापालाई शेखरले महामन्त्रीमा आफ्नो प्यानलमा राखेर महाधिवेशनको चुनावी मैदानमा जाने तयारी गरेको पनि चर्चा थियो।
तर सुजाताको बहस अर्कातिर छ,‘गाउँगाउँमा नेता–कार्यकर्ता साथीहरु निराश र दमित भएर बस्नुपरेको छ । यो निराशाबाट बाहिर निकाल्न सकिएन भने कांग्रेस कसले जोगाइदिन्छ? त्यसैले मेरो नेतृत्व खाँचो छ।’
यता वीपीपुत्र शशांकले यसै पनि आफ्नो दाबेदारीलाई अस्वीकार गर्न नसकिने बताउँदै आएका छन्। शेरबहादुरले राम्रोसँग पार्टी नचलाएका कारण आफू सभापति बन्ने भन्ने त घोषणा नै गरेका थिए। तर उनको समीकरण कस्तो बन्छ भन्ने विषयमाचाहिँ चर्चा चलेको थिएन।
‘शशांक एउटा उम्मेदवार हुन सक्छन्। तर कोइराला परिवारभित्र नेतृत्वका विषयमा विवाद नहोला अन्तिम समयमा। अहिले दाबेदारी त जसले पनि गर्न पाउँछ’, ति नेता भन्छन्,‘तर कोइराला परिवारभित्र नै कुनै तयारी छैन कि भन्ने भनकचाहिँ तीनै जनाको दाबीले देखाएको छ।’
सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारको विरासतबाट उम्किएको छ। यसलाई फर्काउनका निम्ति हर प्रकारको तयारी र रणनीतिमा देशव्यापी रुपमा शेखर सक्रिय रहेका छन्। उनी सभापति पदका लागि तयार भएकैले देशव्यापी अभियानमा पनि हिँडेको कतिपयको आँकलन छ। तर जे होस्, कोइराला परिवारका फरक तीन दाजुभाईका तीन सन्तानको सभापतिमा दाबीचाहिँ रोचक पक्ष देखिन्छ।

