भुपेन्द्र बडुवाल हत्या प्रकरणः इन्स्पेक्टरका भाइसँगै मुख्य योजनाकार अझै फरार


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पनि गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको आग्रहमा सिआईबीको टोली सक्रिय भएको हो।

गत मंगलबार राति बडुवालको टीकापुरमा छुरा हानी हत्या भएको थियो। बडुवाल हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। अन्य फरार छन्।

चिसापानीस्थित होटल संगमका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर बडवालको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ। नवीन हाल फरार छन्।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्याका मुख्य योजनाकार नवीनसहित अझै तीन जना फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै बडुवालको हत्यामा संलग्न एकजना नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)का भाइ पनि फरार सूचीमा रहेको खुलेको छ। फरार सूचीमा रहेका व्यक्ति हुन् मदन शाही। शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको बताइएको छ।

प्रहरी स्रोतले शाही इन्स्पेक्टरका भाइ भएको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले इन्स्पेक्टरको नाम भने खुलाएको छैन। त्यस्तै बडुवाल हत्या प्रकरणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी)का काकाका छोरा पनि फरार रहेको प्रहरीले जनाएको छ।

यसअघि नै प्रहरीले बडुवालको हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको हुन्। प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुनसक्ने प्रहरी आशंका छ।

प्रतिक्रिया