भुपेन्द्र बडुवाल हत्या प्रकरणः इन्स्पेक्टरका भाई इटहरीबाट समातिए


मृतक भुपेन्द्र बडुवाल।

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा फरार रहेका एकजना थप पक्राउ परेका छन्। हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाही नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) का भाइ हुन्। उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेको हो। उनलाई केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी जनाएको छ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए। भूपेन्द्रको हत्यको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन।

प्रहरीका अनुसार त्यस्तै बडुवाल हत्या प्रकरणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी)का काकाका छोरा पनि फरार छन्। चिसापानीस्थित होटल संगमका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर बडवालको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ। नवीन हाल फरार छन्।

यसअघि नै प्रहरीले बडुवालको हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन्।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्याका मुख्य योजनाकार नवीनसहित अझै तीन जना फरार रहेको प्रहरीले जनाएको छ।

बडुवालको हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पनि गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको आग्रहमा सिआईबीको टोली सक्रिय भएको हो।

प्रतिक्रिया