भुपेन्द्र बडुवाल हत्या प्रकरणः रिसोर्टबाट पेस्तोल बरामद, बर्दियामा भेटियो मोटरसाइकल


काठमाडौं – प्रहरीले कैलालीका भुपेन्द्र बडुवालको हत्याको समयमा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद भएको छ। बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट दुई मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवालको तिहारको भाइटीकाको भोलिपल्ट कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलनजिकै नवीन रावलको समूहले हत्या गरेको थियो।

बडुवालको हत्यालगत्तै प्रहरी अनुसन्धानमा घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको पाइएको थियो। हत्याको समयमा प्रयोग भएको मोटरसाइकल फेला परेपनि स्कुटर फेला पर्न बाँकी छ।

प्रहरीले मोटरसाइकल बरामद गरेको रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ। थापाले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुईवटा पेस्तोल बरामद गरेको छ। बरामद भएको पेस्तोल घटनामा फरार रहेका रावल समूहको भएको प्रहरीको दाबी छ।

नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार पेस्तोल होटेलको कोठाभित्र शौचालयमा लुकाएको अवस्थामा थियो।

नवीन रावल होटेल संगम चिसापानीका सञ्चालक समेत हुन्। रावलको योजनामा खुकुरी प्रहार गरेर बडुवालको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ। नवीन हाल फरार छन्।

बडुवाल हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी छ। हालसम्म प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ।

बडुवाल हत्या घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ।

प्रतिक्रिया