
एमाले नेता रहेका मेयर चौधरीले दिए माधव नेपाललाई लन्च पार्टी
काठमाडौं – बेलाबेला चर्चामा आइरहने मेयर हुन् इटहरी उपमहानगरपालिका द्वारिकलाल चौधरी। चौधरी नेकपा एमालेका नेता समेत हुन्।
तर मेयर चौधरीले शुक्रबार एमालेबाट अलग्गिएर गएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको टिमलाई लन्च पार्टी दिएका छन्।
इटहरी लबिपुर निवासमा बोलाएर मेयर चौधरीले अध्यक्ष नेपाल, प्रदेश नम्बर १ का नयाँ मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतको टिमलाई लन्च दिएका हुन्।
लन्च मिटिङमा चौधरीले एमाले सुनसरीको नेतृत्वबारे पनि गुनासो पोखेका थिए। दुई दिनअघि सम्पन्न भएको एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा अध्यक्षता विषयमा विवाद बढ्दा मेयर चौधरीले माइक खोसेर थर्काएका थिए।
उनले पार्टी विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेर अध्यक्षतामा विवाद गर्ने रेवती भण्डारी र रमेश बस्नेतलाई झपारेका थिए। त्यसको २ दिनपछि नेपालको टिमलाई लन्च पार्टी दिएका चौधरीले एमाले छाड्नसक्ने अनुमान गरिएको छ।
मेयर चौधरी एमाले छाडेर माधव नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेको हल्ला छ। त्यसो त समाजवादीको इटहरी नगर कमिटीको फेसबुक पेजमा मेयर चौधरी र इटहरी उपमहानगरपालिका–४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने संकेत देखाइसकेका छन्।
केही वर्षअघि पत्रकारले प्रश्न सोध्दा ‘नाक भाँच्न १ करोड छुट्याएको’ भन्दै पत्रकारलाई लोप्पा खुवाउने अभिव्यक्ति दिएपछि मेयर चौधरी विवाद र चर्चामा आएका थिए। त्यतिबेला चौधरीले ‘तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै धम्क्याएका थिए।



कागजपत्र |
