ल्यान्डमार्क होटलमा प्रेमीकामाथि साथीसहितको त्यो बलात्कार प्रकरणः उच्च अदालतले के भन्यो?


काठमाडौं– दरबारमार्गस्थित ल्यान्डमार्क होतलमा आफ्नी प्रेमीकासँग साथीसहितले सामूहिक बलात्कार गरेको प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ। 

एक युवतीमाथि रामेछापका शैलेश कार्कीसहित ३ जनाले गरेको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाडौंले २७ कात्तिक २०७६मा फैसला गरेको थियो। ५ वर्ष कैद र पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका पीडकहरुको मुद्धामा उच्च अदालतका न्यायाधीश कुमार चुडाल र किरण पौडेलको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडितका पक्षमा फैसला गरेको थियो।

काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो। अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको थियो।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध ४ जेठ, २०७५ मा मुद्दा दर्ता भयो।

प्रतिक्रिया