हिउँद नजिकिँदै गर्दा उत्तर कोरियामा ठूलो भोकमरीको विवरण


काठमाडाैं – उत्तर कोरियामा भोकमरी हुनेबारे कठो चेतावनी देशभित्रै र बाहिरबाट आइरहेका छन्। देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन्।

हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेका छन्।

‘अनाथ बालबालिकाहरू सडकमा धेरै देखिने र भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेका खबर निरन्तर रूपमा आइरहेका छन्,’ उत्तर कोरियामा स्रोत भएकी डेली एनकेकी प्रधानसम्पादक ली साङ योङले भनिन्।

खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा ‘उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित’ भएको लीले बताइन्। उत्तर कोरियाबाट सूचना पाउने कठिन हुने अवस्था बढ्दो छ। कोभिड-१९ को सङ्क्रमणबाट जोगिन भन्दै गरिएको सीमा बन्द गत वर्षको ज्यानुअरीदेखि नै कायम छ।

दक्षिण कोरियामा रहेकालाई उत्तर कोरियामा बस्ने परिवार र साथीभाइबाट सन्देश पाउन पनि मुस्किल हुँदै गएको छ र त्यसरी सूचना लिनु पनि खतरनाक बनेको छ। अनधिकृत मोबाइल फोन लिएको पाइए त्यस्ता मानिसलाई श्रम शिविरमा पठाइने गरेको छ। तर पनि केही मानिसहरू भने चिठ्ठी वा आवाज सन्देश सोलमा रहेका आफ्ना आफन्त वा सञ्चारमाध्यमलाई पठाइरहेका छन्।

यी स्रोतहरूका माध्यमबाट त्यहाँ के भइरहेको छ भन्ने एउटा चित्रण गर्न हामीले प्रयास गरेका छौँ।

‘अन्नको प्रत्येक दाना’

उत्तर कोरियामा खाद्यान्न अभावको समस्या सधैँको हो तर कोरोनाभाइरसको विश्वव्यापी महामारीले त्यो अवस्थालाई अझै खराब बनाएको छ। नेता किम जङ-अनले देशको अहिलेको अवस्थालाई सन् १९९० को खराब अवस्थासँग दाँजेका छन्।

‘आर्डस मार्च’ नाम दिइएको सन् १९९० को त्यस्तो विपद्‌मा लाखौँ मानिसको भोकमरीका कारण ज्यान गएको थियो। अहिले अवस्था अझै खराब भएको ठानिएको छ तर केही आशालाग्दा सङ्केतहरू पनि छन्।

उत्तर कोरियाले चीनसँगको सीमा खोल्ने तयारी गरेको देखिएको छ। तर पहिल्यै गरिब रहेको देशको बिग्रिएको अर्थतन्त्र उकास्न कति सहायता वा कति व्यापार आवश्यक छ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन।

यो वर्षको अन्न भित्र्याउने कार्य महत्त्वपूर्ण छ। गत वर्ष शृङ्खलाबद्ध रूपमा आएका आँधीले अन्नमा आंशिक रूपमा क्षति पुर्‍याएको थियो।

संयुक्त राष्ट्रसङ्घले देशमा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ। यो वर्ष भने धान र मकै जुटाउन सेनासहित दशौँ हजार मानिसलाई खेतमा काम गर्न पठाइएको छ।

किम जङ-अनले पनि अन्नको जोहो गर्न र जसले अन्न खाइरहेका छन् उनीहरूलाई बाली भित्राउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ। ‘बाली भित्र्याउँदा हुने क्षति कम गर्ने योजना पनि गरिएको छ,’ डेली एनकेकी लीले भनिन्।

‘बाली भित्र्याउँदा चोरी वा डकैतीका खबरहरू आए कडा कारबाही हुने पनि बताइएको छ। यसले त्यहाँ डरको वातावरण पैदा गरेको छ।’

गत साता दक्षिण कोरियाको गुप्तचरसम्बन्धी राष्ट्रिय निकाय एनआईएसले संसदीय सुनुवाइको बन्द सत्रका क्रममा उत्तर कोरियाली नेताले देशको आर्थिक अवस्थाबारे गरेको टिप्पणीबारे जानकारी गराएको थियो।

एक जना सांसदका अनुसार एनआइएसले किमले ‘आर्थिक अवस्थाका कारण कठिन परिस्थितिबाट गुज्रिरहेको’ आफूले महसुस गरेको बताएको जनाएको थियो। औषधि र आवश्यक सामाग्रीको अभावले उत्तर कोरियामा बिमारीहरू सङ्ख्या तीव्र गतिमा बढिरहेको पनि एनआईएसले जनाएको बताइएको छ।

यी बढ्दो चिन्ताहरूबारे सरकारी सञ्चारमाध्यममा आएका विवरणले थप पुष्टि गर्छ। समाचारहरूमा अन्नमा पुग्ने क्षति कम गर्न उपायहरू अपनाइएको अथवा खाद्यान्न उत्पादन बढाउने प्रयास गरिएको लगायतका विषयहरू आएका छन्।

आधुनिक कृषि

खाद्यान्न आपूर्तिलाई लिएर उत्तर कोरियाले दुई मुख्य विषयको सामना गरिरहेको छ। पहिलो भनेको कृषि गर्ने तरिका हो। विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि वा क्षेप्यास्त्रमा लगानी गरेको भए पनि अन्न उत्पादन गर्न र भित्र्याउन प्रयोग हुने आधुनिक कृषि उपकरणमा भने लगानी गरेको छैन।

कोरियाको ग्रामीण अर्थतन्त्रबारे अध्ययन गर्ने चोइ योङ्गोले भनिन्, ‘कृषिमा आवश्यक उपकरणको कम उपलब्धता हुनुले खाद्यान्न उत्पादनमा कमी आउँछ।’ दक्षिण कोरियाकै हकमा पनि त्यो देखिएको उनले बताइन्।

‘सोलका गगनचुम्बी भवनहरू पृष्ठभूमिमा हुने गरी दक्षिण कोरियाको पश्चिमी भेगबाट उत्तर कोरिया हेर्दा म र मेरो समूहले हान नदीको असाध्यै राम्रो दृश्य देख्यौँ। असाध्यै नजिक अनुभव भयो तर पनि असाध्यै टाढा।’ एक जना सानी बालिकाले दूरबिनबाट हेरेर भनिन्, ‘उनीहरू पनि उस्तै मानिस रहेछन्।’

‘उनीहरू हामीजस्तै छन्’, उनले आफ्नी आमासँग भनिन्। कयौँ गाउँलेहरू पिठ्यूँमा धानका बाला बोकेर ट्र्याक्टरसम्म पुग्न व्यस्त थिए। दुई देशको सीमा नजिकै पर्ने पजु भन्ने ठाउँमा मिसिनको प्रयोग गरेर धान काट्न एक घण्टा लागेको दक्षिण कोरियाली एक किसानले बताए। यदि उत्तर कोरियामा जस्तो हातैले धान काटेको भए उनका अनुसार त्यति धान काट्न एक साता लाग्थ्यो।

अति जोखिममा

अमेरिकी गुप्तचर निकायहरूले विश्वव्यापी तापमानले असर पुर्‍याउने र अन्न फलाउन कठिन हुने अति जोखिममा रहेका ११ देशको सूचीमा उत्तर कोरियालाई राखेको छ।

‘उत्तर कोरियाको धेरै अन्न उब्जनी हुने गरेको पश्चिम तटीय क्षेत्रमा धान र मकैको उब्जनीमा सफलता नमिल्ने सम्भावना देखिएको छ,’ काउन्सिल अन स्ट्राटेजिक रिस्ककी क्याथरिन डिलले भनिन्।

‘कन्भर्जिङ क्राइसिस इन नर्थ कोरिया’ नामक हालै प्रकाशित प्रतिवेदनकी उनी एक लेखिका पनि हुन्। ग्लास्गोस्थित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उत्तर कोरियाले यूकेमा रहेका आफ्ना राजदूतलाई प्योङयाङले किन पठायो भन्ने त्यसैले व्याख्या गर्छ।

‘उत्तर कोरिया प्राकृतिक विपद्को उच्च जोखिममा छ। प्रत्येक वर्ष त्यहाँ बाढी, वर्षा र आँधीले तनाव दिन्छ र त्यसले प्रत्यक्ष रूपमा अन्नमा र अप्रत्यक्ष रूपमा किरा फट्याङ्ग्रा धेरै देखिने समस्या निम्त्याउँछ,’ चोयले भनिन्।

‘कन्भर्जिङ क्राइसिस’ नामक प्रतिवेदनले आउँदा वर्षमा अवस्था अझै खराब हुने र खासगरी सुक्खापन र बाढीले धानको उत्पादनलाई असर गर्ने जनाएको छ। ‘सन् २०२० र सन् २०२१ कै आँधी आउने मौसमले देखाएका छन् कि उत्तर कोरियामा थप आक्रामक आँधी आउनेछ। समुद्री सतह बढ्ने हिसाबले हेर्ने हो भने तटीय क्षेत्र थप जोखिममा हुने देखिन्छ,’ डिलले भनिन्।

बाहिरी विश्वसँग कमै घुलमिल गर्ने उत्तर कोरियाले जलवायु परिवर्तन र वातावरणबारे विश्वमञ्चहरूमा कमै उपस्थिति देखाएको छ। उत्तर कोरियाले सन् २००३ र २०१२ मा संयुक्त राष्ट्रसङ्घको वातावरण सम्बन्धी कार्यक्रम यूएनईपीले तयार गरेको देशहरूको विस्तृत प्रतिवेदनमा काम गरेको थियो।

उत्तर कोरियाले क्योटो प्रोटोकल र प्यारिस सम्झौताजस्ता अन्तर्राष्ट्रिय सन्धिमा पनि हस्ताक्षर गरेको छ। जलवायु परिवर्तनका विषयमा सामेल हुनुको एउटा कारण त्यसले खाद्यान्न उत्पादनमा असर गर्ने भएर हुनसक्छ।

सन् २०१२ को यूएनईपी प्रतिवेदनले उत्तर कोरियाको औसत तापक्रम सन् १९१८ र २००० को बीचमा १.९ डिग्री सेल्सियसले बढेको जनाएको छ।  सन् २०१९ मा तयार भएको ग्रीन क्लाइमेट फन्ड प्रतिवेदनका अनुसार उत्तर कोरियामा वार्षिक औसत तापक्रम सन् २०५० सम्ममा २.८-४.७ डिग्री सेल्सियस पुग्ने ठानिएको छ।

दुवै देशलाई असर गर्ने यो समस्याका कारण सँगै काम गर्ने मौकाका रूपमा दक्षिण कोरियाले यसलाई हेरेको छ। सोलकी वातावरणसम्बन्धी मन्त्री हान जियोङ-एइले जलवायु परिवर्तनका विषयमा अन्तर कोरियाली सहकार्यबारे आफ्ना समकक्षीलाई ग्लास्गोस्थित सम्मेलनमा भेट्ने आशा गरेको बताएकी थिइन्। तर त्यो हुन सकेन।

स्कटल्यान्डमा भएका भाषणहरू उत्तर कोरियाली प्रतिनिधिले सुनिरहेका भए उनीहरूले थाहा पाउने छन् कि चीनसँगको व्यापार पुन: सुरु भएर सामाग्री सीमाबाट आउन थाले पनि वा महामारीको डर सामान्य बन्दै गए पनि देशले बढ्दो सङ्कटको सामना गरिरहेको छ। त्यसले जोखिममा रहेको जनसङ्ख्यालाई उल्लेख्य रूपमा असर गर्नेछ। र यसबाट उ आफ्नै भरमा मात्रै पार पाउने छैन। बीबीसी

प्रतिक्रिया