काठमाडौं प्रहरीको जुवा ‘अपरेशन’: एक वर्षमा ८२९ जना पक्राउ, दुई करोड राजस्व संकलन

दसैंतिहारमा मात्रै ९३ जना जुवाडे काठमाडौंबाट पक्राउ


काठमाडौं – सधैंजसो यस वर्ष पनि काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा जुवा खेल्ने र खेलाउनेको निकै चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका कतिपय निजी घर, कोठा, होटल, रेष्टुरेण्ट र रिसोर्टलगायतका स्थानमा जुवातास खेल्ने/खेलाइन्छ।

विशेष गरी एकान्तस्थलका केही घर, रेस्टुरेन्ट तथा गेस्टहाउसहरुमा सँधै जसो जुवा खेलाइने गरिएको छ। धेरैजसो अखडामा नै तास खेलाइने गरिन्छ। जुवातास खेलाउने गरेको सूचना प्रहरीलाई पुगेसँगै सूचना अनुरुप प्रहरीले पनि सक्रियता बढाएको छ।

उपत्यकामा धेरै स्थानमा मिनी क्यासिनो शैलीमा जुवा खेलाइने सूचना आएको र आफूहरूले त्यस्ता स्थानमा निगरानी बढाएर नियन्त्रणमा लिने काम शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह बताउँछन्।

एसएसपी सिंहका अनुसार उनीहरुले मिनी क्यासिनो नै सञ्चालन गरेर आफ्नो धन्दा चलाएका छन्। प्रहरीले पछिल्लो एक वर्षमा काठमाडौं प्रहरीले ८२९ जनालाई जुवाखालबाट पक्राउ गरेर कारबाही गरेको छ। एसएसपी सिंहका अनुसार उपत्यकाको १०१ ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।

काठमाडौंको बौद्ध, स्वयम्भु, थानकोट, कीर्तिपुर क्षेत्रमा दसैंतिहारको समयमा जस्तै जुवातास खेल्ने र खेलाइने गरेको एसएसपी सिंहले बताए। यससबाहेक बौद्ध र स्वयम्भुका कतिपय ठाउँमा भने गोटीमार्फत खेलिने तिब्बतीय जुवा समेत खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको साथबाट १ करोड ९७ लाख ५६ हजार ९०२ रुपैयाँ समेत बरामद भएको एसएसपी सिंहले जानकारी दिए। पछिल्लो एक वर्षमा बौद्ध प्रहरीले सबैभन्दा धेरै २६ स्थानमा छापा मारेको थियो। त्यस्तै थानकोट प्रहरीले १४, महारागजञ्जले ६, कीर्तिपुरले ७, गौशालाले ४ ठाउँमा छापा मारेको थियो।

अझ विशेषतः दसैंतिहारको समयमा जुवा खेल्ने र खेलाउने काम अन्य समयमा भन्दा बढी हुने गरेको प्रहरी तथ्याकंले नै देखाएको छ। एसएसपी सिंहका अनुसार दसैंतिहारमा मात्रै ९३ जना पक्राउ परेका छन्। यो अवधी करिब १५ दिनको अन्तराल हो।

एसएसपी सिंहकाअनुसार दसैंतिहारको समयमा १० वटा मुद्दा दर्ता भएको र पक्राउ परेका ९३ जनाको साथबाट १६ लाख ९८ हजार ४२५ रुपैयाँ रकम समेत बरामद भएको एसएसपी सिंहले जानकारी दिए। पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही भइरहेको सिंहले बताए।

जुवा अखडामा मिटरब्याजको दबदबा, युवतीको समेत व्यवस्था

प्रहरीका अनुसार, राजधानीका कतिपय स्थानमा घर तथा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएका जुवा घरमा मदिरासँगै पैसा मिटरब्याजीको लागि दिने गरेको अनुसन्धानबाट खुलेको छ। जुवाखालमा उठेको रकम चर्को मिटरब्याजमा समेत लगाउने गरेको बुझिएको सिंहले बताए।

त्यस्तै प्रहरी अनुसन्धान अधिकारीहरु भन्छन्, ‘सहयोगी भन्दै जुवा अखडामा राखिएका युवतीसँग धनाढ्य जुवाडेहरुले यौन शोषणसमेत गर्ने गरेका छन्।’ विशेष गरी पेशेवर जुवा अखडामा खाना र सुत्ने व्यवस्थासहित युवतीको समेत व्यवस्था हुने गर्छ।

सोहीक्रममा प्रहरीले जुवा अखडामा छापा मार्दा कतिपय स्थानबाट युवती समेत पक्राउ पर्ने गरेका छन्।

जुवा खेल्नेलाई के हुन्छ कारबाही?

मुलुकी अपराध संहिता २०७४को परिच्छेद –५ अनुसार, पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। त्यस्तै, जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेछ। संहिता अनुसार, जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन भने जफत हुँदैन।

प्रतिक्रिया