यी दुई दाजुभाइको कथाः युट्युब हेरेर बम बनाए, अनि फिरौती माग्न अस्पतालमा राखे


काठमाडौं – पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आरोपीहरूलाई सार्वजनिक गरिएको हो।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। परिसरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा खोलावाङका अम्मर बहादुर रोकामगर छन्।

आपराधिक लाभ लिन खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी सिंहले अनलाइनन्युजलाई बताए। प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक कुँवर सहोदर दाजुभाइ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गत २५ भदौमा आँखा अस्पतालको तेस्रो तलाको शौचालयमा उनीहरूले ‘बम’ राखेका थिए। ‘त्यसपछि आरोपीहरूले अस्पताल सञ्चालकसँग ३ करोड फिरौती मागेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख समेत रहेका एसएसपी सिंहले भने।

आरोपितहरुलाई सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा एसएसपी अशोक सिंह र एसपी रमेश बस्नेत।

करिब एक महिनाअघि आशिष मातृका आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए। त्यहाँ आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए। जसकारण उनले अस्पतालका कर्मचारी देखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिएका थिए।

आशिष र अभिषेक दाजुभाइ काठमाडौंको फुटुङमा बस्दै आएका थिए। आशिष बेल्जियम पनि जान चाहिरहेका थिए। उनले त्यसको लागि आवेदनसमेत दिइसकेका थिए। म्यानपावरमा १७ लाख खर्च भैसकेको थियो। तर, ‘भिसा आउँदैछ’ भनेर म्यानपावरले उनलाई अल्झाइरहेको थियो।

‘अस्पतालमा आफूले आँखाको उपचार गरेर फर्किएपछि बम राख्ने योजना बनाएको हुँ,’ पक्राउ परेपछि आशिषले प्रहरी समक्ष बयानमा भनेका छन्, ‘अस्पताल चलेको देखेर पैसा आउँछ भन्ने सोच आयो, अनि बम समेत आफैं बनाएँ।’

विदेश जानको लागि म्यानपावरमा खर्च भएको पैसा उठाउनकै लागि युट्युब हेरेर दाजुभाई मिलेर बम बनाएको समेत उनीहरुले बयान दिएका छन्। २३ असारमा युट्युब हेरेर बम बनाउन सिकेपछि आशिषले ४ हजार ६ सय पर्ने मोबाइल समेत किनेको पाइएको छ।

बम बनाइसकेपछि उनीहरुले फिरौती माग्नको लागि नयाँबजार खुसीबुँबाट एनसेल र स्मार्टका ३ वटा सिमकार्ड किने। त्यसपछि फुटुङबाट ट्याक्सी चढेर साथमा बनाएको टाइम बम लिएर अस्पताल गए। ‘अस्पतालको तेस्रो तलमा बम राखेर उनीहरु फर्केको खुलेको छ,’ एसएसपी सिंहले भने।

परिसरमा आशिष कुँवर, अभिषेक कुँवर र अम्मर बहादुर रोकामगरलाई सार्वजनिक गर्दै प्रहरी।

त्यसपछि गत बिहीबार आशिषले अस्पतालका एक डाक्टरलाई बारम्बार फोन गरेर सूचना दिएका थिए। अस्पतालमा बम राखेर पड्काइदिएर ध्वस्त पार्दिन लागेको सूचना थियो। जतिबेला उनीहरुले फोन अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई गरेका थिए।

दोङलाई फोनमा भनिएको थियो– तपाईंहरू दुई मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले अस्पतालको शैचालयमा बम राखेका छौं। दोङले तत्कालै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र अस्पताल सञ्चालक डा.किशोर प्रधानलाई जानकारी गराए।

तत्कालै उनीहरु फोन गर्ने व्यक्तिले भनेको स्थानमा हेर्न जाँदा शौचालयमा रहेको कमोडको पछाडी रातो बत्ती पिलिक–पिलिक बलेको देखिएको थियो। अध्यक्ष श्रेष्‍ठले तत्काल यसको जानकारी प्रहरीको १०० नम्बरमा फोन गरेर दिएका थिए।

उनीहरूले प्रधानको मोबाइलमा समेत केही मेसेज पनि पठाएका थिए। घर परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा आउन भनिएको थियो। म्यासेजमार्फत उनीहरूले डा. प्रधानसँग पैसाको बार्गेनिङ गर्न थाले।

प्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट छ, चार वटा बम तपाईंको घरमा पनि हुनसक्छ वा अन्यन्त्र पनि। हामीले भनेको नमानेर आलटाल गरेमा बम पड्काएर ध्वस्त पार्दिन्छौं भनेर धम्क्याइरहे। पैसा नदिए परिवारलाई नै सिध्याइदिने धम्की समेत दिए।

उनीहरुले पैसा बार्गेनिङ गर्दाको म्यासेज।

बम राखिएको र धम्की आएको कुरा प्रहरीलाई पहिला नै खबर भएको थियो। परिसरबाट प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो। तत्कालै सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो। उक्त बम तर्साउनलाई मात्रै राखेको खुल्यो।

त्यसपछि प्रहरी बम राख्ने व्यक्तिहरूको खोजीमा सक्रिय भयो। अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको थियो। प्रहरीले फुटेज, मोबाइल ट्याकिङ गरी उनीहरू भएको ठाउँ पत्ता लगाएपनि पक्राउ गर्न सकिरहेको थिएन्।

त्यसपछि १ करोड ७५ लाख लेनदेन गर्ने गरी अम्मरबहादुर रोकाले प्रधानसँग बार्गेनिङ गर्न थाले। फुटुङमा कुँवर दाजुभाइ र अम्बरको डेरा सँगै छ। फिरौती लिएर ‘नागढुंगा कटेर आउनु’ भनेपछि आशिष र अम्बर फुटुङबाट निस्किए।

सँगै प्रहरी पनि त्यहिअनुसार उक्त क्षेत्रमा परिचालन भएको थियो। अन्ततः प्रहरीले सो क्षेत्रमा खोजेर उनीहरुलाई पक्रन सफल भएको हो। आषिशका भाइ अभिषेकलाई धादिङबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

पक्राउ परेपछि उनीहरूले प्रहरीसँगको बयानमा भनेका छन्, ‘आर्थिक अवस्थाको कारण थर्काएपछि पैसा आउँछ भनेर बम राखेका हौँ।’ प्रहरीले उनीहरूमाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया