फौजीको दसैं: उपत्यकाका प्रहरी कमाण्डरदेखि सिपाहीको दसैं ड्युटीमै!


‘किन आउँछ दसैंतिहार किन बिदा बार
फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार!’

यो गीतको हरफ सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक कोइरालाले कोरेका हुन्, जुन सुरक्षाकर्मीको भोगाइ हो। आज हिन्दु धर्मालम्बीहरूको महान् चाड बडादसैंको टिकाको दिन हो। आम रमाइलोमा व्यस्त हुने गर्छन्।

नेपालीहरूको महान चाड दसैँको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अधिकांश कार्यालयका कर्मचारीलाई दसैँ बिदा हुने गर्छ। अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ।

व्यक्तिअनुसार रमाइलो गर्ने तरिका फरक फरक हुन्छ। तर, कतिपय छुट्टी नमाउँदा कार्यक्षेत्रमै दसैँ मनाउन विवश हुन्छन् भने छुट्टी पाउने भने उत्साहित हुँदै आफ्नो थातथलोतिर लाग्छन्।

शीरमा टीकाजमरा लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ खेल्दै रमाइलो गरी सबै नेपाली नागरिकले दसैँ मनाइरहँदा सुरक्षाकर्मीहरु भने अहोरात्र ड्युटीमै खटी जनतालाई सुरक्षा दिइरहेका हुन्छन्।

वर्ष दिनमा आउने महान चाड दसैँमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आस कुन बाबुआमाको नहुँदो हो र? तर फौजीका लागि भने यो अवसर बिरलै जुर्छ। तर आफ्नो कर्तव्यको अगाडि उनीहरू नतमस्तक हुन्छन्। परिवारको खुसीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ।

रातदिन नभनी उनीहरू अहोरात्र ड्युटीमा खटिन्छन्। थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर परिवारसँगै दसैँ मनाउने सौभाग्य पाउँछन्। धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साँट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन्।

यसरी हेर्दा नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मीको दसैँ खल्लो त देखिन्छ। तर पनि उनीहरू सामाजिक सेवामा तल्लीन हुन पाउँदा निकै खुसी छन्। यस्तै प्रतिनिधिमूलक पात्रको रुपमा अनलाइनन्युज७ ले घर जान नपाएर कार्यक्षेत्रमै दसैँ मनाउन विवश काठमाडौं उपत्यकाका कमाण्डरदेखि काठमाडौं प्रहरी र ललितपुर प्रहरी प्रमुखसँगको लिएको प्रतिक्रिया यस्तो छ।

हरि पाल, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी प्रमुख

अति संवेदनशील ठाउँ काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षाको जिम्मेवारी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालको कमाण्डमा छ।

प्रहरी सेवाको २९ वर्षे अवधिको अधिकांश दसैँ उनले कार्यक्षेत्रमै बिताएका छन्। दार्चुलाको मालिकार्जुन गाँउपालिकामा जन्मिएर हाल कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका पालका आमाबुबाले प्रहरी निरीक्षक हुँदासम्म छोरो नआएकोमा गुनासो गर्थे।

‘सुरु सुरुमा त आफैलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो। घरबाट पनि गुनासो हुन्थ्यो,’ एआईजी पालले स्मरण गरे, ‘तर पछि–पछि बुबाआमाले पनि बझ्नुभएको छ, प्रहरीको जागिरै यस्तै हो भनेर। त्यसैले केही वर्षदेखि दसैं आफ्नो कार्यक्षेत्रमै मनाउने गरेको छु।’

जागिर सुरु गरेपछि दसैँको टीकाको दिन एकछिन आफूभन्दा ठूलाको आशीर्वाद लिएर फेरि ड्युटीमै खटिएको स्मरण गर्छन् एआईजी पाल। काठमाडौं उपत्यकाको जिम्मेवारी आफ्नो काँधमा भएकोले कार्यालयलाई घर सम्झी दसैं मनाउने तयारी रहेको उनले बताए।

‘बिदा हुँदा पनि जान सक्ने अवस्था छैन्,’ उनले अनलाइनन्युजसँग भने, ‘उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूको आआफ्नै प्रकृतिका जिम्मेवारी हुन्छ। उपत्यकाको महानगरीय कार्यालयको इन्चार्जको जिम्मेवारी आफैमा एउटा संवेदनशील जिम्मेवारी हो।’

एआईजी पालले आफ्नो आमाबुबाको हातबाट टीका नलगाएको ४ वर्ष भयो। आफ्नो कार्य व्यस्तताको कारण महेन्द्रनगरस्थित घरमा रहनुभएका बुबाआमाको हातबाट टीका ग्रहण गर्न नपाएको गुनासो एआईजी पालले गरे।

अशोक सिंह, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)
महानगरीय प्रहरी परिसर, काठमाडौं प्रमुख

यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले प्रहरीलाई बिदा नपाइने भनी सरकारी आदेश भएकाले दसैँमा २४ सै घण्टा ड्युटीमा खटिएको बताए।

एसएसपी सिंहले चाडपर्वमा जनशक्ति कम हुने र सवारी दुर्घटना, झैझगडा, चोरी जस्ता आपराधिक क्रियाकलपमा मानिसहरू बढी संलग्न हुनसक्ने भएकाले उपत्यकामा प्रहरीलाई सोहीअनुसार ड्युटीमा परिचालन गरिएको बताए।

नेपाल प्रहरी भनेको राष्ट्र सेवक भएकाले घर जान नपाए पनि आलोपालो ड्युटी मिलाएर दसैँ मनाएको बताए। एसएसपी सिंहले चाडवर्पमा कुनै पनि आपराधिक क्रियाकलाप नहोस् भनी सचेतना अभियानलाई समेत तीब्र बनाएको सिंह बताउँछन्।

धनगढी घर भएका एसएसपी सिंहले घरमा अभिभावकको हातबाट टीका नलगाएको १५ वर्ष भयो। देश र जनताको सुरक्षामा लागेपछि आफ्नै आमाबुबाको हातबाट टीका नलगाएको १५ वर्ष भएको एसएसपी सिंह सुनाउँछन्।

‘घरमा बुबाआमा हुनुहुन्छ। उहाँहरु यता आउनुहुन्नछ। सरकारी आदेशअनुसार आफू कार्यक्षेत्र छोडेर घर जान सक्दिन्,’ एसएसपी सिंह भन्छन्, ‘त्यसैले दसैंमा घर गएर आफ्नै बुबाआमाको हातटबाट टीका लगाउन पाएको छैन।’

किरण बज्राचार्य, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)
महानगरीय प्रहरी परिसर, ललितपुर प्रमुख

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले घरमा अभिभावकको हातको हरेक वर्ष टीका लगाउने अवसर पाएकी छन्। पाल्पाको तानसेनस्थित पुख्र्यौली घर नै पुुगेर टीका नलगाएको चाहिँ थुप्रै वर्ष भयो।

पछिल्लो एक वर्षयता ललितपुर जिल्लाको कमाण्ड सम्हालेकी एसएसपी बज्राचार्यलाई व्यस्तताले गर्दा यो दसैँमा घर जान फुर्सद मिलेको छैन। चाडपर्वको समयमा माथिल्लो तहका अधिकारीहरूले बिदा दिए पनि आफ्नो क्षेत्र छाडेर जानसक्ने अवस्था नरहेको उनी बताउँछिन्।

‘दसैँ भनेर मात्रै भएन। शान्ति, सुरक्षाको व्यवस्थापनदेखि सङ्गठित अपराधको अनुसन्धान गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो।’ उनले भनिन्, ‘यही बीचमा भीआईपी र भीभीआईपीज्यूहरूको पनि सवारी हुन्छ। उहाँहरूको सुरक्षा व्यवस्थापनमा पनि हामी क्रियाशील रहनुपर्ने हुन्छ।’

मुमा हुनु भएकाले यो दसैंको टीकाको दिन घर पुगेर मुमाको हातबाट टीका ग्रहण गरेर कार्यक्षेत्रमा फर्किने उनले बताइन्। ‘केही वर्षयता मुमाको हातबाट टीका लगाउन पाइरहेको छु,’ उनले भनिन्, ‘उपत्यका बाहिर दरबन्दी भयो भने त्यतिबेला चाहिँ गाह्रो हुन्छ।’

००००००
यसरी देश र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हरेक वर्षको दसैैं सुरक्षा गर्दा नै बित्ने गरेको छ। यसपालिको दसैं पनि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका कर्मचारीहरुले आ–आफ्नै ब्यारेकमा मनाउने छन्।

ब्यारेकमै जमरा छरिसकेको र टीकाको दिन घरका आमाबुबाको हातको टीका थाप्न नपाए पनि आफ्नै हाकिमको हातको टीका लगाएर दसैं मनाउने योजनामा रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरी जवानले अनलाइन्नयुजलाई बताए।

ती जवानजस्तै वर्षौं दसैं मनाउन घर जान नपाएका हजारौं प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका हाकिमदेखि जवानसम्मले दसैं ब्यारेकमै मनाउने भएका हुन्।

प्रतिक्रिया