वर्षाका कारणमा पाइपलाइनमा क्षति, खानेपानीको हाहाकार


बैतडी – कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेको हो ।

गाउँमा ल्याइएको एकमात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन्। पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीयवासी केशवराज भट्टले बताए। गाउँमा दुई हप्तादेखि खानेपानीको अभाव भएको छ ।

उनले भने, ‘अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामीहरु दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं।’ उनले भने, ‘गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो, खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ।’ खानेपानी अवरुद्ध हुँदासमेत गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो दिएको छैन ।

चडेपानीमा २० किलोमिटर टाढाको मूहान धरमघरबाट खानेपानी ल्याइएकामा सो खानेपानी समेत नआउँदा समस्या भएको हो। यसअघि चडेपानीमा गत असार दोस्रोसाता पनि पहिराले खानेपानीको संरचनामा क्षति पुर्याएपछि खानेपानीको अभाव भएको थियो ।

प्रतिक्रिया