नगद र सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ     


काठमाडौं – बारा, धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका-१२ फरौली  बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु.७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका-५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया