

पूर्वमन्त्री आलमका भाईको प्रहरीलाई प्रारम्भिक बयानः दाजुको निर्देशनमा रौतहट काण्ड

काठमाडौं– रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमले ०६४ सालमा दाजुको निर्देशनमा घटना घटाइएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।
प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ५५ बर्षिय महताफको प्रारम्भिक बयानका आधारमा अनुसन्धान जारी राखिएको छ। भारतबाट पक्राउ गरेर ल्याएको भए पनि प्रदेश प्रहरी कार्यालयले महताफलाई नेपाल–भारत सीमा अन्तर्गत रौतहटको बोधीमाई नगरपालिका–७ बाट पक्राउ गरिएको प्रवक्ता कृष्ण प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२७ चैत ०६४ मा चुनावको अघिल्लो दिन आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको र सो क्रममा एउटा सनसनी हत्याकाण्ड मच्चाइएको विवरण सतहमा आएको थियो । सोही बेला घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई जिउँदै इटाभट्टामा जलाएको उजुरीका आधारमा नै आलम पक्राउ गरिएका थिए। पूर्वमन्त्री आलम अहिले पूर्पक्षका लागि थुनामा छन्।

