२४ घण्टा नबित्दै बालुवाटारले रोक्यो गृहमन्त्रीको एसएसपी सरुवा निर्णय, आईजी निरिह!


प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण।

काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरुवा भएपनि रोका भएको छ। मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट सिंहसँगै एसएसपी सुदीप गिरीको पनि काज सरुवा भएको थियो।

गृह मन्त्रालयले एसएसपी गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए।

बालुवाटारको दबाबपछि गृहमन्त्री खाण आफैंले निकालेको सरुवा कार्यान्वयन गर्न पछि हटेका छन्।

यसबारे जिज्ञासा राख्दा गृहमन्त्री खाणले काठमाडौंका प्रहरी प्रमुख फेर्नेबारे कुनै निर्णय नभएको बताए। सिंह ५ मंसिर २०७७ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए।

‘एसएसपी सरुवाको भएपनि निर्णय गोप्य राखिएको छ,’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने– ‘सो निर्णय कार्यान्वयन हुन गाह्रो छ।’

एसएसपी सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको थियो।

परिसर महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहतको कार्यालय हो। तर, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पाललाई समेत जानकारी नदिई सिंहको सरुवा भएको थियो।

गृह मन्त्रालयले निकालेको सरुवाको पत्र समेत प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजी) समक्ष मंगलबार नै पुगेको स्रोतले बतायो। तर, शक्तिकेन्द्रको दबाबमा निर्णय कार्यान्वयन नहुने भएपछि आईजी शैलेश थापा क्षेत्री निरिह साबित भएका छन्।

सरुवाको अडान लिन नसक्दा आईजी क्षेत्री निरिह रहेको एक प्रहरी बरिष्ठ अधिकतले बताए। ‘लामो समयदेखि आईजी क्षेत्रीले अडान लिन नसक्दा हुनुपर्ने नियमित सरुवाहरु समेत हुन सकिरहेको छैन,’ ती अधिकृतले भने।

आईजी क्षेत्रीले आफ्नो ६ महिना समयावधी टिकाउनको लागि शक्तिकेन्द्रले जे भन्यो आफूले गरेको निर्णय विपरित काम गर्दै आइरहेका छन्। आईजीको जिम्मेवारी सम्हाल्दै गर्दा क्षेत्रीले सिनियर प्रहरी अधिकृतको सरुवा एक–एक वर्षमा हुने बताएपनि पछिल्लो समय मनलाग्दी हुने गरेको छ।

केही दिनअघि मात्र भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवामा समेत आईजी क्षेत्रीले अडान लिन नसक्दा आफैले कारबाही गरेका डिएसपी विश्वराज खड्कालाई शक्तिकेन्द्रको दबाबमा दरबारमार्ग वृत्तको जिम्मेवारी दिए।

त्यस्तै छोटो समयमै इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका डिएसपी मदन कुँवरको सरुवा भयो। उत्कृष्ट प्रहरी भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत भचएका डिएसपी कुँवरको चार महिनामै सरुवा भएको हो।

आईजी क्षेत्रीले आफ्नो अडान दिन नसक्दा पछिल्लो समय प्रहरी संगठनभित्र गृह मन्त्रालयको हस्तक्षेप बढेको छ।

प्रतिक्रिया