उत्खननको पर्खाइमा ठाडाखानीको तामाखानी


गलेश्वर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खननको पर्खाइमा छ ।

रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आए पनि त्यसपछि भने बन्द भएको थियो ।

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो । उक्त तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल हुन सकेको छैन ।

तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई भेजा ९कर० तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बुढापाका बताउँछन् । त्यसपछिका राजनीतिक परिवर्तनपश्चात् पनि उक्त तामाखानी सञ्चालनमा आउन सकेको छैन ।

‘राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थिए, चार वर्ष बित्यो, कुनै पहल भएन’, स्थानीय गिरी छन्त्यालले भने ।

ठाडाखानीमा छन्त्याल र विक जातीका मानिस बसोबास गरेको बस्ती हो । एक सय ६ वर्ष अघि उनीहरु रुमले भिरको तामाखानी उत्खनन गरी तामासँग अन्न साट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजीत छन्त्यालले बताए ।

रुमले भिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट २०० मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक करोडौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ ।

प्रतिक्रिया