दुई तारे जर्नेलमा बढुवा भएका श्रेष्ठले लगाए फुली


काठमाडौं – नेपाली सेनाको दुई तारे जर्नेल (उपरथी) मा बढुवा भएका बाबुराम श्रेष्ठले दर्ज्यानी चिन्ह लगाएका छन्। बुधवार सैनिक मुख्यालयमा श्रेष्ठलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो।

बढुवाको निर्णय सँगसँगै श्रेष्ठलाई मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिइएको छ। पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए। उनको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ।

श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए। पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन्। उनी सेनाको तालिम महानिर्देशनालयमा कार्यरत थिए।

श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर पुर्वाग्रह साँधेर कार्वाही गरिएको थियो। श्रेष्ठको ब्याचका सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल यसअघि नै उपरथी भइसके पनि उनी भने यसअघिका प्रधानसेनापति पूूर्णचन्द्र थापाको ‘कोपभाजन’मा पर्दा बढुवा हुन सकेका थिएनन्।

उपरथीमा बढुवा भएसँगै श्रेष्ठ फेरी पनि तीन तारे जर्नेल हुने सम्भावना धेरै छ। सैनिक मुख्यालयको रेकर्ड अनुसार उनको जन्ममिती २०२४ फागुन २८ गते रहेको छ।

प्रतिक्रिया