

असोजमा कपिलबस्तु प्रहरीले गरेका ६ मुख्य काम यस्ता छन्

कपिलबस्तु– जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले असोज महिनामा गरेका विविध उपलब्धीबारे जानकारी दिएको छ। प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले एक महिनाको उपलब्धीको जानकारी दिने नयाँ परम्परा सुरु गरेका छन्।
फरार अभियुक्त पक्राउदेखि स–साना अपराध गर्नेको पक्राउदेखि ठूलो प्रकरणमा कपिलबस्तु प्रहरीले सफलता पाएको छ।
५ असोजमा लागु औषध नाईट्राभेट सहित तीन जना मानिस पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्म भण्डारीले जानकारी दिएका छन्।
साँझ ६ बजे कृष्णनगर नगरपालिका–२ बैंकरोडमा दाङ तुल्सिपुर उपमहानगरपालिका–५ प्रगतिशिल टोलका २६ बर्षीय मानदेव गुरुङ, १८ बर्षीय निराजन खड्कालाई ४८० वटा नाइट्राभेट ट्याब्लेटसहित नियन्त्रणमा लिएको जिप्रका कपिलबस्तुले जनाएको छ। उक्त लागु औषध भारतको सिद्धार्थनगर ढेवरुवा थाना बढनी पोष्ट बढनीबजार बस्ने १८ बर्षीय ऋतिक शर्मालाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।
यसैगरी ६ असोजमा १३.९३ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ। वाणगंगा नगरपालिका–१ जितपुर चोक स्थितमा हरी पाण्डेले संचालन गरेको पाण्डे स्वीट कर्नरको शौचालयबाट झापा शिवसतासी नगरपालिका–११ का ४० बर्षीय सलिम थापा मगर र मोरङ कर्तिपुर गाउँपालिका–३ का १९ बर्षीये बिनोद लामालाई पक्राउ गरिएको हो।
यसैगरी ८ असोजमा एक महिना १४ दिनको शिशु हत्या गर्ने अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। डिएसपी भण्डारीका अनुसार शिबराज नगरापलिका–२ मदरहवास्थित रनजन भन्ने तुलानन्द चौधरीको घरमा बाबु आमा गोठमा घाँस पराल गर्न गएको समयमा छिमेकी हिरे कामीले ९ बर्षी छोरी झरना थारुलाई गालामा झापड हान्दा एक महिना चौध दिनको छोरा सुलब चौधरीलाई लाग्दा मृत्यु भएको थियो।
सर्लाही गौरीशंकर गाउँपालिका–४ श्रीनगर हरकठवाका तुलानन्द चौधरीले उजुरी दिएपछि हिरे कामीलाई पक्राउ गरिएको थियो।
यसैगरी १७ असोजमा स्रोत नखुलेको २२ लाख ९१ हजार रुपैंया बोकेका जीवनप्रसाद भुसाललाई नियन्त्रणमा लिइएको थियो। पक्राउ गरिएका भुसाल र बरामद रकम राजश्व अनुसन्धान विभाग बुटवल पठाइएको छ।
बुद्धभुमी नगरपालिका–९ धमौलीका २२ बर्षीय भुसालको साथबाट एक हजार दरका २० (बिस) गड्डी, प्रति गड्डी १०० का दरले २००० थान नोट, ५०० दरका ५ (पाँच) गड्डीमा प्रति गड्डी १०० का दरले ५०० नोट, १०० दरका नोट ३०० गरी कुल जम्मा २२, ९१ हजार स्रोत नखुलेको रकम फेला परेको थियो।
यसैगरी, २२ असोजमा ११.५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मायादेबी गाउँपालिका–१ पकडी चोक स्थित ईप्रका पकडीबाट खटिएको प्रहरी निरिक्षक कृष्ण बहादुर खत्रीको कमाण्डको चेकिङ टोलीले युपी५५एसी०२३५ नम्बरको भारतीय मोटरसाइकलमा सवार कपिलवस्तु शुद्दोधन गाउँपालिका–२ नन्दनगर बस्ने फिरोजुद्धिन मुसलमानको छोरा २५ बर्षिय नियाज अहमद मुसलमानलाई लागुऔषधसहित पक्राउ गरिएको हो। उनको साथबाट डिजिटल तराजु र ८ हजार नगद पनि फेला परेको प्रहरीले विवरणमा जनाएको छ।
यसैगरी हराएको बालक फेला पारी अभिवाभकको जिम्मा लगाईएको छ। २९ फागुनमा कपिलबस्तु नगरपालिका–३ निवासी राम बिक्रम तेलिको छोरा १४ बर्षिय छोरा काशीराम तेलिलाई ‘सुंयक्त नेपाली महासंघ मुम्बई’ सस्थासंग समन्यव गरी २६ असोजमा जिल्ला प्रहरी कार्यालयबाट अभिभावकको जिम्मा लगाइएको थियो।

