

रक्सी खाएर हो–हल्ला गरेको भनी विकको हत्या, जातिय विभेदको कसुरको दाबी

काठमाडौं – दशैंको महानवमीको दिन चितवनमा एक दलित व्यक्तिको हत्या भयो। चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको हो।
स्थानीय युवाहरु दिलिप श्रेष्ठ र सिताराम क्षेत्रीले उनको हत्या गरेका हुन्। उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले बताए।
यस घटनाविरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइसकेका छन्। उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दिएका ह्न्। उक्त जाहेरी दर्ता पनि भइसकेको छ।
मृतक विश्वकर्माको शवको पोष्टमार्टम गरिसकिएको छ। तर, पोष्टमार्टमको रिपोर्ट भने नआइसकेको मृतकका छोरा किसान विकले जानकारी दिए।
हत्या गर्नुको कारण के?
कतिपयले बिकले रक्सी खाएर होहल्ला गर्दै बाटोमा हिँडेका युवतीलाई जथाभावी बोलेपछि कुटपिट गर्दा उनको मृत्यु भएको बताएका छन्। कतिपयले भने मन्दिरमा आफूले पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा विकको कुटपिटबाट हत्या भएको बताएका छन्।
यस विषयमा डिएसपी थापासँग बुझ्दा उनले जातिय विभेदको कुरा पनि उठेको स्वीकारे। कतिपयले विक रक्सी खाएर होहल्ला गर्दै स्थानीय महिलाहरुलाई जथाभावी बोलेको आरोप पनि लगाएको डिएसपी थापाले जानकारी दिए।
२८ असोज (दशैंको महानवमीको दिन) भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए। सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पूजाको कार्यक्रम भइरहेको थियो। त्यो मन्दिरमा दलितहरुलाई पूजा गर्न पहिलेदेखि नै प्रतिबन्ध थियो।
यसपाली दलितहरुलाई उक्त मन्दिरमा पूजा गर्न दिनुपर्छ भनेर विश्वकर्माले आवाज उठाएका थिए। सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको आरोप छ। उनीहरुले विकको बिभत्स हत्या गरेको स्थानीय अधिकारकर्मी लछुराम विकको दावी छ।
अब जातीय विभेद सम्बन्धी ऐनअनुसार पनि मुद्दा हाल्ने तयारी भइरहेको लछुरामले बताए। जातिय विभेद सम्बन्धी घटनामा पनि जाहेरी लिएर आएपछि यस बिषयमा केन्द्रीत रहेर पनि अनुसन्धान हुने डिएसपी थापाको भनाइ छ।
रक्सी खाएर होहल्ला गरेको आरोपमा विकमाथि कुटपिट भएको कुरामा मृतकका छोरा किसान सहमत छैनन्। उनले आफ्नो बाबु रक्सी खाएर हल्ला गर्ने खालको नभएको बताए।
‘चाडपर्वको समयमा अलिअलि रक्सी खानु स्वभाविक हो। अरुले पनि खाएका हुन्छन्,’ उनले भने, ‘रक्सी खाए पनि ज्यान नै लिनुपर्ने आवश्यक किनरु यो मुद्दालाई कमजोर बनाउनका लागि मात्र यो बिषयललाई माथि ल्याइएको हो।’

