अस्ट्रेलियामा साढे ४ सय किलो हिरोइन बरामद, मलेसियन नागरिक पक्राउ


काठमाडौं – अस्ट्रेलियामा अहिलेसम्मकै ठूलो परिमाणमा लागूपदार्थ हिरोइन बरामद भएको छ। शनिबार अस्ट्रेलियाली प्रहरीले साढे ४ सय किलोग्राम हिरोइन शनिबार फेला पारेको हो।

एउटा पानीजहाजले ल्याएको सामानको कन्टेनर चेकजाँच गर्ने क्रममा बरामद लागूऔषध हिरोइन करिब १४ करोड अस्ट्रेलियाली डलर (१ अर्ब २४ करोड ७२ लाख नेपाली रूपैयाँ) बराबरको रहेको प्रहरीले जनाएको छ।

बरामद हिरोइनसँगै अस्ट्रेलियाली प्रहरीले एक जना व्यक्तिलाई समेत पक्राउ गरेको छ। ती व्यक्ति मलेसियन नागरिक रहेको कतारी समाचारमाध्यम अल–जजीराले जनाएको छ।

प्रहरीले पक्राउ परेका मलेसियन नागरिकको पहिचान सार्वजनिक गरेको छैन। उनीमाथि अवैध लागुपदार्थ भित्र्याएको र स्वामित्वमा राखेको आरोप छ। प्रहरीका अनुसार अभियोग साबित भए जन्मकैदसम्मको सजाय हुनसक्छ।

हिरोइन बरामद भएपछि अस्ट्रेलियाली प्रहरीले मलेसियाको रोयल मलेसिया प्रहरीसँग समन्वय गरेर संयुक्त अनुसन्धान थालेको अस्ट्रेलियाली संघीय प्रहरीका दक्षिणी कमान्डका कमिस्नर क्रिसी ब्यारेटले जानकारी दिएका छन्।

तस्वीर सौजन्य : अल–जजीरा

प्रतिक्रिया