रुकुम पश्चिममा प्रहरी र स्थानीयबीच झडप, असईसहित ७ जना घाइते


काठमाडौं – रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ। झडपमा प्रहरी सहायक निरीक्षक (असई)सहित ७ जना प्रहरी घाइते भएका छन्।

शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

रुकुमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार घाइते प्रहरी सहायक निरीक्षक बोहरा र हवल्दार कालीबहादुर बोहरालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रूकुम पश्चिम मुसिकोट नगरपालिका–५ का २० वर्षीय नरेश पुन मगर, १८ वर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० वर्षीय आकाश परियार, रूकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका–५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट–१० का २४ वर्षीय खडानन्द केसी र २५ वर्षीय हरिबहादुर घर्ती छन्।

घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति ८ः४० बजेतिर मुसिकोट–१ बागबजार नजिकै छेउमा पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरू मदिराले मातेका युवाहरूले फुटाएका थिए। बियर खाएका युवाहरूको समूहले प्रहरीकै सामु बियरको बोतल प्रहार गरी ट्रकको अगाडि भागका सिसा फुटाइदिएका थिए। त्यतिखेर उक्त स्थानमा दुई जना प्रहरी मात्रै ड्युटीमा थिए।

आठ जना मातेका युवाले बियरका बोतलले ट्रकको सिसा फुटालेको देखे पनि दुई जना मात्रै प्रहरी भएकाले उनीहरूले जिल्लामा खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।

प्रतिक्रिया