बारामा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


काठमाडौं – बारामा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा पर्ने वीरगन्ज–पथलैया सडकखण्डमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे उक्त दुर्घटना भएको हो। पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा परी कारका चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। चालकको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य दुईजनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने ट्याङकरका चालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया