विप्लवका दाई बिरजंगको निधन


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वर्तमान केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द ‘बिरजंग’ को निधन भएको छ। बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन्।

६१ वर्षीय बिरजंग लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याबाट ग्रसित थिए। उनको भारतको दिल्लीस्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको हो।

विगतमा भएका ग्रामीण वर्ग संघर्ष, पञ्चायती निरकुंशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेलजीवत व्यतित गरेका बिरगंजलाई जेलभित्रै मुटुको रोगले समेत गाँजेको थियो।

उनको दुई पटकसम्म मुटुको शल्यक्रिया गरिएको थियो। प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना संक्रमण समेत भएको थियो।

२०१७ सालमा रोल्पाको इरिबाङमा जन्मिएका नेता बिरजंगको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ। बिरजंगका आमा, श्रीमती, दुई छोरा र बुहारी छन्।

उनको शव अस्पतालबाट नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा श्रद्धाञ्जलीको लागि राखिने नेकपा स्रोतले जनाएको छ।

प्रतिक्रिया