सिटिजन्स् बैंक लुटपाट योजना बनाउने मुख्य अभियुक्त बिराटनगरका मुखिया, ७ भारतीयको प्रयोग


काठमाडौं– मोरङको कर्सियास्थित सिटिजन्स्स बैंकको शाखा लुट्ने योजना बनाउने मुख्य अभियुक्त बिराटनगर–३ मुनालपथका शिव मुखिया रहेको खुलेको छ। मुखियासहित तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। प्रारम्भिक बयानका क्रममा नै मुख्य योजनाकारको पहिचान भएको मोरङ प्रहरीले जनाएको छ।

बैंक लुटपाटका लागि मुखियाले ७ जना भारतीय पेसेबरको प्रयोग गरेका थिए। कर्सियास्थित शाखामा बन्दुक बोकेर लुटपाटका लागि पुगेका समूहसँग सुरक्षा गार्ड शितल कुँवर भिडेका थिए। उनलाई गोली लागेको छ। बिराटनगरस्थित न्युरो अस्पतालमा उनको उपचार जारी छ।

मुखियासहित प्रहरीले सुनिल यादव र बिजय बहरदारलाई पक्राउ गरेको छ। दुवै भारतीय नागरिक हुन्। बहरदारको तिघ्रामा उनकै समूहले चलाएको गोली लागेको छ।

प्रहरीले फरार रहेका अन्य चार जनाको पनि खोजी जारी राखेको छ। भारतीय प्रहरीसँगको समन्वयमा अभियुक्तहरुलाई पक्राउ गरिने बताइएको छ। बैंक लुट्ने प्रयत्न असफल भएपछि उनीहरु सीमावर्ती क्षेत्रबाट भागेका थिए।

उता बैंकमा भने झन्डै २२ लाख रुपैंया गायब भएको छ। लुटेरा समूहको प्रयास असफल भएको बताइए पनि पैसा गायब भएपछि त्यसको थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङको जनाएको छ।

प्रतिक्रिया