गजेन्द्र हमाल प्रकरणले कांग्रेस महाधिवेशमा देउवालाई ठेस लाग्ने अनुमान


काठमाडौं– सोमबार चितवनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताए। यसैगरी चितवन कांग्रेसले पनि गठबन्धन भएको खण्डमा विद्रोह हुने चेतावनी दियो। तर त्यहि चितवनमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सत्ता गठबन्धन अनुसारै चुनावी मैदानमा उत्रिने बताएका थिए।

महाधिवेशनको मुखैमा रहेको कांग्रेसमा सुरु भएको यो बहसले सभापति शेरबहादुर देउवाको साख विस्तारै गिर्न थालेको स्पष्ट संकेत गरेको छ। अझ, पौडेलले भनेका थिए,‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरी देउवाले कांग्रेसको साख गिराए, त्यसलाई उठाउनका लागि गठबन्धनरहित कांग्रेसको पहल म गर्छु।’

१३ औं महाधिवेशनपछि सभापतिका रुपमा उदाएका देउवाले लगत्तै सरकार चलाउन पाउँदा विभिन्न विवाद भए। खासगरी नेपाल प्रहरीको महानिरिक्षक (आईजी) नियुक्ति विवादको लहरोदेखि पहरोसम्म झर्दा आम चुनावमा कांग्रेस नमिठोगरी पराजित भएपछि देउवाको आलोचना तिव्र भएको थियो।

यसै प्रकरणलाई जोड्दै कतिपय युवा नेताले देउवा नसुध्रिएको उदाहरणका रुपमा हमालको मन्त्री नियुक्ति हुनुलाई अथ्र्याएका छन्। यस्तो काम गर्ने नेतृत्व अब बदल्न आवश्यक रहेको भन्दै प्रतिनिधि माझ देउवाइतरका नेता सक्रिय भएर लागिसकेका छन्। जसका कारण देउवाले महाधिवेशन गुमाउन सक्ने अनुमान गरिएको छ। देउवा एक कार्यकालका लागि महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा छन्।

आफ्नो समूह नै क्षयीकरण भइरहेका बेला देउवाले सरकारमा रहेर अनैतिक काम गरेपछि कांग्रेसमा उनको पुनरागममा धक्का लाग्न सक्ने कतिपयको विश्लेषण छ। एक विश्लेषक भन्छन्,‘विमलेन्द्र निधिलगायतका कतिपय नेता महाधिवेशनमा देउवाविरुद्ध उभिने तयारीमा छन्। समूह क्षयीकरण भइरहेका बेला सरकारमा रहेर वेथिति गरिरहँदा महाधिवेशन गुम्ने खतरा यसै पनि हुन्छ।’

हमालले राजीनामा गरेर यो प्रकरण साम्य भएको छैन। दशैंलगत्तै नेपाल बार एशोसिएशन र कानुनकर्मीले गठबन्धन दलका नेतालाई पनि अवज्ञा गर्ने घोषणा गरिसकेका छन्। यसले देउवालाई घाटा हुने बताइन्छ।

‘प्रजातान्त्रिक विचार राख्ने वकिलहरु नै विरोधमा छन्। पार्टीको युवा पंक्ति पनि आलोचना गरिरहेको छ। यसले महाधिवेशनमा उदय हुने विषयमा देउवालाई ठेसचाहिँ लाग्नेछ।’ हमाललाई राजीनामा गराएको भनी देउवाले विज्ञप्ति निकाले थिए। तर हमालले भने राजीनामा आफैंले गरेको दाबी गरेका छन्।

प्रतिक्रिया