कोजाग्रत पूर्णिमाको दिन कांग्रेसको चियापान नहुने (विज्ञप्ति)


काठमाडौं – नेपाली कांग्रेसले हरेक कोजाग्रत पूर्णिमाको दिन गर्दै चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको महामारी घट्दो क्रममा भए पनि पुरै नियन्त्रणमा नआएको भन्दै आम जनताको स्वास्थ्यको ख्याल गर्दै चियापान नगर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ति मार्फत् जनाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनीदाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।

नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चांडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

No photo description available.

प्रतिक्रिया