सीआईबीद्वारा ठगीको आरोपमा सिभिल समूहका अध्यक्ष इच्छाराजसहित १२ पक्राउ


काठमाडौं – नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संविधानसभाका पूर्व सदस्य एवं सिभिल बैंक तथा सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारण बचतकर्ताको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तामाङसहित सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।

सीआईबीले उनीहरूलाई कार्यालयबाट पक्राउ गरिएको जनाइएको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । तर, संस्थाले अर्बौँ रुपैयाँ ठगी गरेको जनाइए पनि पुष्टी भने भइसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको पनि सीआईबीले  जनाएको छ ।

सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् ।

बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएका थिए । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया